भारत जान प्रधानमन्त्रीले परम्परा र कूटनीतिक मर्यादा तोड्नुभयो

भारत जान प्रधानमन्त्रीले परम्परा र कूटनीतिक मर्यादा तोड्नुभयो

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणका लागि आज अपरान्ह नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री भारत जान लाग्नुभएको हो ।

तर,पाँचौ पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत जान लाग्दा देउवाले कूटनीतिक मर्यादा र विगतका परम्परालाई तोड्नु भएको बताइन्छ । भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने यसअघिका अभ्यास यसपटक उहाँले पालना गर्नुभएन ।

यसअघि प्रधानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गर्ने अभ्यास थियो । छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्थे । तर, यसपटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गर्नुभएन ।

त्यस्तै, प्रधानमन्त्री देउवाले यसपटक भारत भ्रमण गर्दा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा समेत जाने हुनुभएको छ । यो उहाँले तोडेको दोस्रो परम्परा हो । यसअघिका भ्रमणहरुमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गरेका थिएनन् । यो कूटनीतिक मर्यादा विपरित पनि हो । देशको प्रतिनिधित्व गरेर जाने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरुको तर्क छ ।

भारत भ्रमणको वहानामा प्रधानमन्त्री देउवाले नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रममा अनुपस्थित हुने भएपछि अर्को परम्परा पनि तोडिएको छ । प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौदेखि रहिआएको छ । तर, यसपटक उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाको उपस्थिति हुने छैन ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने भएकोले उक्त कार्यक्रममा सहभागी नहुने नेपाली सेनाले जनाएको छ ।

टिप्पणीहरू