रास्वपाको समानुपातिक सूचीमा पूर्वएमाले छपक्कै

रास्वपाको समानुपातिक सूचीमा पूर्वएमाले छपक्कै

एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलको विश्वासपात्र भनिएकाहरूले धमाधम पार्टी छोड्न थालेका छन् । उनको गृहजिल्ला रुपन्देहीका कमरेडहरूले अर्कै बाटो समातेका हुन् । 

हिजो रुपन्देही क्षेत्र ५ बाट निर्वाचित सांसद बासु घिमिरेले एमाले छोडेको घोषणा गरेका थिए । राती साढे १० बजेतिर फेसबुकमा स्टाटस लेख्दै उनले अब उप्रान्त एमालेको जिम्मेवारीमा नरहने जानकारी गराएको केही घण्टा नबित्दै आज बिहानै धकधईका सन्जय गुप्ताले पनि उक्त पार्टीमा नरहने निधो गरेका छन् । 

एमाले छाडेका दुवैजना रवि लामिछानेको रास्वपामा मिसिने तयारीमा रहेको बताइन्छ । विघटित प्रतिनिधिसभाका सांसद घिमिरेलाई पाैडेलकाे जाेडबलमा खिमलाल भट्टराईकाे टिकट कटाएर गत निर्वाचनमा अघि सारिएको थियो । त्याेभन्दा अगाडि स्थानीय तहकाे निर्वाचनमा धेरै वर्ष काेरियामा जागिर गरेर आएका उनले एक्कासी तिलाेत्तमाका मेयरकाे टिकट पाउनुमा पनि उपाध्यक्ष पाैडेलकै भूमिका थियो ।

पार्टीमा वर्षौँ योगदान गरेका नेता-कार्यकर्तालाई अवसर नदिई विदेशमा काम गरेर फर्केका घिमिरेलाई टिकट दिलाएका पाैडेलले गत प्रतिनिधि सभा निर्वाचनमा पनि खिमलालको भाग खोसेर उनलाई दिएका थिए । घरजग्गा व्यापारीसमेत रहेका यी पात्र आसन्न फागुन २१ काे निर्वाचनमा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि रास्वपामा जान लागेको टिप्पणी भैरहेको छ । 

एमालेले आसन्न निर्वाचनमा रुपन्देही-५ बाट खिमलाल भट्टराईलाई उठाउने तयारी गरेपछि घिमिरे असन्तुष्ट थिए । त्याे क्षेत्र नपाए ३ मा भए पनि चाहना व्यक्त गरेका उनलाई स्थानीय कमिटीले सिफारिस नगर्ने भएपछि रवितिर लाग्ने निष्कर्षसहित हिजो राती फेसबुकमा स्टाटस लेखेको बताइन्छ।

बताइएअनुसार रास्वपाले २ नम्बर क्षेत्रबाट उठाउने तयारीसहित उनलाई छिट्टै पार्टी प्रवेश गराउँदैछ । यो एमाले उपाध्यक्ष पाैडेलले जित्दै आएको ठाउँ हाे ।

धकधईका सन्जय पनि मधेसी समुदायमा भिजेका राम्रै नेता हुन् । रुपन्देहीमा जीवनभर एमाले भएर पनि कुनै लाभकाे पद नलिएका उनलाई यसचोटी पनि बेवास्ता गरिएपछि रास्वपा प्रवेशकाे तयारी थालेको बुझिन्छ । 
उपाध्यक्ष पाैडेलको स्वकीयसमेत भइसकेका सैनामैनाका पूर्वमेयर चित्र कार्की यसअघि नै रास्वपातिर लागिसकेका छन् । उनी पनि पाैडेलकै जाेडबलमा पार्टी जिल्ला सचिव र सैनामैना नगरकाे दुई पटक मेयर उम्मेदवार बनेका थिए । 

२०७४ मा मेयर जिते पनि २०७९ मा पराजित भए । आगामी  दिनमा पनि उनी मेयरमै उठ्नेगरी रविको पार्टीमा छिरेको चर्चा छ । 

यसैगरी पाैडेलकै बलमा एमाले प्रदेश कमिटी सदस्य भएकी ठेकेदार मन्जु भुसाल पनि रास्वपा प्रवेश गरेकी छन् । रास्वपाले निर्वाचन आयोगमा पेश गरेकाे समानुपातिक सूचीमा उनको नाम छ । दुई दिन अघिसम्म एमालेमै रहेकी भुसाल लुम्बिनी निर्माण व्यवसायी संघकाे अध्यक्षसमेत हुन् । 

एमालेबाट सहकारी बाेर्ड सदस्य  ज्ञानु पाैडेल पनि रास्वपाकाे समानुपातिक उम्मेदवार छिन् । युवासंघ नेतृ श्रद्धा कुँवरलाई पनि सूचीमा हालिएको छ ।

टिप्पणीहरू