ठाउँ हेरेर चुनावी तालमेल,महन्थहरुसँग मिल्दैनौँ : मन्त्री यादव

ठाउँ हेरेर चुनावी तालमेल,महन्थहरुसँग मिल्दैनौँ : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच आवश्यकताका आधारमा सिट तालमेल हुने बताउनुभएको छ । आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँगै कुरा गर्दै उहाँले केही दिनभित्रै गठबन्धन बैठकले यसबारे निर्णय लिने पनि बताउनुभयो ।

जसपा नेतृसमेत रहनुभएकी यादवले निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभएपनि ठाउँ हेरेर त्यसको निर्क्यौल हुने उल्लेख गर्नुभयो । ‘अहिले हामी गठबन्धन सरकारमा छौँ’, उहाँले भन्नुभयो, ‘त्यो विभिन्न ठाउँमा परिस्थितिवश गठबन्धन भएर नै अगाडि बढने अवस्था छ । हामी सबै ठाउँमा नगरे पनि कुनकुन ठाउँमा कसरी गर्नुपर्छ ? भनेर केही दिन पछि नै निर्क्यौल गर्ने छौँ ।’

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको पनि मन्त्री यादवले स्पष्ट पार्नुभएको छ । लोसपा पनि सरकारमा सामेल हुने चर्चा चलिरहेका बेला उहाँले बिचार र दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरुबीच मात्रै एकता सम्भव हुने बताउनुभयो ।

विचार,मन र नियत तीन वटै कुरा नमिल्ने भएकाले महन्थहरुसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको उहाँको भनाइ छ ।

टिप्पणीहरू