भोलि नयाँ दिल्लीबाट ग्रीन सिग्नल

भोलि नयाँ दिल्लीबाट ग्रीन सिग्नल

धनुषा जिल्लाको कुर्थादेखि भारत, बिहारको जयनगरसम्म रेल सञ्चालनको उदघाट्न भोलि भारतको नयाँ दिल्लीबाट हुने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा नयाँ दिल्लीमा फ्ल्याग अफ अर्थात हरियो झण्डा देखाएपछि रेल कुद्ने छ ।

डेढ वर्षअघि झण्डै ८५ करोड रुपैयाँमा भारतबाट किनिएको रेल भोलि बल्ल गुड्न लागेको हो । भोलि उद्घाटन हुने रेल भारतको जयनगरबाट नेपालतर्फ आउने छ । उक्त रेलमा दुवै देशका प्रतिनिधि रहने छन् । उक्त रेल जनकपुर आइपुगेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका सरकारी अधिकारीहरु कुर्थासम्म रेल चढेर जाने छन् । मन्त्री फेरि कुर्थाबाट जनकपुर आएर ओर्लेपछि रेलको औपचारिक शुरुआत हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

पर्सिदेखि रेल दुई पटक भारतबाट नेपाल आउने र दुई पटक नेपालबाट भारततर्फ जाने तालिका बनाइएको छ । भारतको जयनगरबाट साढे ८ बजे र दिउँसो ३ बजे छुट्छ भने धनुषाको कुर्थाबाट बिहान साढे १० र साँझ सवा ५ बजे भारततर्फ जाने छ ।

उक्त ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) मा एक हजार तीन सय ५० जना यात्रुले एकै पटक यात्रा गर्न सक्नेछन् । यात्रुले आफ्नो साथमा साना झोला मात्र लैजान पाउने जानकारी दिइएको छ । प्रतिघण्टा एक सय किलोमिटरको गतिमा दौडने उक्त रेलले जम्मा ३५ किलोमिटर यात्रा गर्नेछ । त्यसको निम्ति सामान्य सिटमा ९० र वातानुकुलित सिटमा चार सय ५० रुपैयाँ एकतर्फी भाडा तोकिएको छ ।

टिप्पणीहरू