दीपकराज गिरी माओवादीतिर लागे

दीपकराज गिरी माओवादीतिर लागे

नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकका सदस्य दीपकराज गिरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर गिरी माओवादीमा समाहित भएका हुन् ।

प्रचण्डसहित माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश,वर्षमान पुन अनन्तलगायतले एमाले छोडेका गिरीलाई माओवादीमा स्वागत गरेका थिए ।

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै पार्टी परित्याग र प्रवेशका क्रम दिनदिनै बढिरहेका छन् । खासगरी मधेश प्रदेशमा बहालवाला जनप्रतिनिधि नै टिकटको सुनिश्चितताका लागि एमालेमा लाग्नेक्रम बढेको छ ।

मधेशमा अन्य दलका नेता-कार्यकर्तालाई पार्टीमा भित्र्याउन एमाले अध्यक्ष केपी ओली जोड दिएर लागिरहेका बेला पहाडी इलाकामा भने एमाले परित्याग गर्नेहरु पनि उत्तिकै छन् । केही दिनअघिमात्रै ओलीका प्रियपात्र गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेका दर्जनौ एमाले नेता कांग्रेसमा गएका थिए ।

टिप्पणीहरू