१८ दिन घाम तापेर मुद्दाबाट मुक्ति
त्यसै भनिएको कहाँ हो र सानालाई ऐन, ठूलालाई चैन भनेर ? आफ्नै विद्यार्थीको मृत्युमा किटानी जाहेरी परेर १८ दिनदेखि नियन्त्रणमा रहेका भनिएका फ्युचर स्टार बोर्डिङ स्कुलका साहु बाबुराम पौडेलले एक दिन पनि प्रहरी हिरासत कक्षमा बस्नु परेन ।
सानेपास्थित कांग्रेस पार्टी कार्यालयका सचिव तथा मकवानपुरे माननीय कृष्ण पौडेलका भाइ भएकै कारण उनले त्यो सम्मान पाए । उनी रहँदासम्म जिल्ला प्रहरी कार्यालय लमजुङ कांग्रेसको पार्टी कार्यालयजस्तो बन्यो ।
दैनिक कार्यकर्ताको भीड । १८ दिनसम्म प्रतीक्षालयमा घाम ताप्दै शुभचिन्तक र आगन्तुकसँग गफिएर बिताए भने राति ससुरालीको मेजमानीजस्तो । ब्राण्ड ब्राण्डका मापसेदेखि भेराइटी भेराइटीका मासुको आइटम । तर, उही प्रकृतिका अन्य दुई शिक्षक सरोज ओलीया र तीर्थ सेढाईं भने अरू बन्दीजस्तै खोरमै छन् ।
केही दिनपहिले कांग्रेस कार्यकर्ता रामजी कँडेलको निजी सवारी साधन तोडफोड गरी क्षति पु¥याएको आरोपमा समातिएका भक्ति नमुना माविका एक शिक्षकले पनि हिरासतमा बस्नु परेन । उनीसमेत बाबुराम मार्काका ।
कहिले जिशिअ, कहिले आफ्नै स्कुलका प्रअमाथि हातपात गरेको भनेर चर्चामा आइरहने उनले पछिल्लो समय आफ्नै पार्टीसम्बद्ध कँडेलसँग आर्थिक कारोबारमा हिसाब मिलान हुन नसकेपछि आवेगमा पार्किङ गरी राखेको गाडीमा क्षति पुर्याएको भनिए पनि आरोपित शिक्षक अस्पतालको शयन कक्षबाटै साधारण तारिखमा बिदा भए । सामान्य नागरिकलाई सामान्य गल्तीमा समेत यो छुट पाउने कानुनी प्रावधान छैन ।
फागुन २४ गते पौडी खेल्न जाँदा मस्र्याङ्दीमा डुबेर बितेका सुन्दरबजार नगरपालिका–९ भोटेओडार लमजुङस्थित फ्युचर स्टार बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययनरत छात्र तनहुँ भानु–९ का सनिज श्रेष्ठलाई बाबुरामलगायत शिक्षकले कर्तव्य गरी मारेको भन्दै आफन्तले किटानी जाहेरी दिएका थिए ।
तर, जिल्ला अदालत लमजुङले पर्याप्त प्रमाण अपुगको कारण देखाउँदै अस्ति सोमबार साधारण तारिखमा छाड्न आदेश दिएको छ ।
टिप्पणीहरू