दुई महिला मन्त्रीका विवादले मुख्यसचिवलाई दुःख

दुई महिला मन्त्रीका विवादले मुख्यसचिवलाई दुःख

देउवा सरकारका दुई महिला मन्त्रीबीच बढेको दूरी मत्थर पार्ने जिम्मेवारी अन्ततः मुख्यसचिव शंकरदास बैरागीको काँधमा आइलागेको छ । एउटा मन्त्रीको कार्यक्षेत्रमा अर्काेले हस्तक्षेप गरेको भन्दै दुई महिनादेखिको तिक्ततालाई मत्थर पार्नका लागि अस्ति सोमबार बिहान डाकिएको क्याबिनेट बैठकले मुख्यसचिवलाई सहजीकरणको जिम्मेवारी सुम्पिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बैठक प्रारम्भ हुनुअगावै शहरी मन्त्री रामकुमारी झाँक्रीले आफ्नो कार्यक्षेत्र भूमिव्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले मिचेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । यी मन्त्रीबीच राष्ट्रिय आवास कम्पनीको जग्गाबारे विवाद निस्किएको हो ।

आवास कम्पनीले माघ २७ गते नवलपरासीको बर्दघाट ९ का ३८१ घर परिवारलाई लालपुर्जा बाँड्ने कार्यक्रम तय भएको थियो । सो कार्यक्रममा विभागीय हैसियतले रामकुमारीलाई प्रमुख अतिथि बनाइएको थियो । मन्त्री र निजी सचिव, स्वकीय सचिवसहित उच्च पदस्थ कर्मचारीका लागि टिकटको व्यवस्था भइसकेर पनि अन्त्यमा हठात् यात्रा स्थगन गर्नुपरेको थियो ।

बीचमै त्यहाँका हाकिम अजित कुँवरले लालपुर्जा बाँड्नका लागि कानुनी आधार नभएको खबर पठाएका थिए । राष्ट्रिय आवास कम्पनी शहरी विकास मन्त्रालय मातहतको निकाय हो । ०२० सालमै स्थापित तत्कालीन पुनर्वास कम्पनी अहिले राष्ट्रिय आवास कम्पनी बन्न पुगेको छ । त्यहाँका भूमिहीनले राष्ट्रिय आवास कम्पनीको जग्गा खरिद गरेका थिए । तिनै भूमिहीनलाई लालपुर्जा बाँड्न झाँक्रीको नवलपरासी जाने कार्यक्रम स्थगन भएको थियो ।

बर्दघाटको ८ बिघा जग्गामा ०३२ सालदेखि ३ सय ८१ परिवार बसोबास गर्दै आएका छन् । आवास कम्पनीका हाकिम नारायण बाँस्तोलाका अनुसार, त्यहाँका १ सय ६५ परिवारले पूरै कम्पनीलाई बुझाइसकेकाले तिनलाई मात्र लालपुर्जा बाँड्ने तयारी भएको थियो तर नापी कार्यालयले एक पटक श्रेस्ता कायम भइसकेको जग्गा फेरि पास गर्दा राज्यको करोडौं राजश्व गुम्ने र नापीबाहेक अन्य संस्थाले पुर्जा बाँड्न नमिल्ने भन्दै हात उठाएको थियो ।

शहरी विकास स्रोतले भने नापीका कर्मचारीले घडेरी नपाएपछि भूमिहीनलाई लालपुर्जा बाँड्ने कार्यक्रम नै स्थगन गरिदिएको बताइयो । आवास कम्पनीको नाममा हाल देशका विभिन्न ठाउँमा गरी ३ हजार २ सय ९८ बिघा जग्गा रहे पनि अधिकांशमा नापीका हाकिमहरूकै नजर पर्ने गरेको र अतिक्रमणमा पर्दै आएको बतायो ।

टिप्पणीहरू