जनजातिमा कांग्रेस एमाले यसरी जोडिए
केन्द्रीय सदस्य भएर विवाद सल्टाउनुको सट्टा आफ्नै ढंगले नाम लिस्ट तयार पारेर वाचन गर्न लागेका खेमजङ गुरुङले झण्डै पिटाइ भेटेनन् ।
केन्द्रीय अध्यक्ष रेशम गुरुङले सहमतिमै पदाधिकारी चुन्नुहोला, सकभर निर्वाचन प्रक्रियामा नजानुहोला भनेको घण्टा पनि नबित्दै खेमजङले कसैसँग सरसल्लाहै नगरी फलानो फलानोलाई निम्न पद भन्दै गाेजीबाट नाम पढ्न थालेपछि जिल्लाको विभिन्न ठाउँबाट आएका प्रतिनिधिले कठालो समात्न खोजे क्व्होलासोथार गाउँपालिका–१ का अध्यक्ष पेमा गुरुङले थामथुम पारे ।
०७० मै सम्पन्न हुनुपर्ने अधिवेशन यिनै गुरुङको लफडाले यहाँसम्म तन्कियो। आदिवासी जनजाति महासंघ लमजुङको अध्यक्ष रहेका गुरुङले जनजाति महासंघको महासचिव खोजेका थिए । एमाले नेता पृथ्बीसुब्बा गुरुङले खासै चासो नदेखाउँदा महासचिव बन्न पाएनन् ।
यसैको रिस २०७० को दोस्रो संविधानसभा निर्वाचनमा फेरे । एमाले नेता सुब्बाविरुद्ध ०६४ मा आफैँले बोकेर हिँडेका खेमले उम्मेदवारी हाले । गुरुङहरूलाई जनजातिको नारा बेचेको र बाहुनको पिच्छलग्गु बनेको भन्दै ०६४ मा भारी मतले जितेका पृथ्वीसुब्बा गुरुङ ०७० मा यसै कारण पराजित भए ।
खेमजङले आदिवासी जनजातिको अध्यक्ष भएर पनि अधिवेशन नै नगरी समय कटाउन खोजे । उता, तमू ह्युल छोंज धींमा प्रेम घलेले त्यस्तै गरे । खेमजंग एमालेविरुद्ध खनिएपछि जनजाति महासंघबाट उनलाई पदच्युत प्रेम घलेहरू लागिपरे ।
माओवादीका हरिजंग तामाङलाई आदिवासी जनजाति महासंघको अध्यक्ष बनाए भने खेमजङले दूधकाशी तामाङलाई राखेर समानान्तर कमिटी चलाए । तर, केन्द्रले हरिजङलाई आधिकारिक मान्यता दियो। खेमजंग एमाले, माओवादी, नयाँ शक्ति, हुँदै अहिले तमलोपामा पुगेका छन् । उनी तमलोपाको केन्द्रीय सदस्य भए पनि प्रभाव लमजुङमा शून्य छ ।
यता, एमालेकै प्रेम घलेले कांग्रेसका खजिन्द्र गुरुङलाई अध्यक्ष बनाउने वचन दिएका थिए । तर, एमाले जिल्ला उपसचिवमा पराजित जीवराज घले अध्यक्षको दाबीबाट नहटेपछि नैतिक संकटमा परेका प्रेम बन्दसत्रभरि देखै परेनन् । घलेको आडभरोसामा रमाएका मालिंगे साइलाको नामले परिचित कांग्रेसका खजिन्द्र गुरुङले अन्ततः वरिष्ठ उपाध्यक्षमा चित्त बुझाए ।
खजिन्द्र वरिष्ठमा बसेपछि बन्द सत्र निर्वाचन प्रक्रियामा गएन। फलतः अधिकांश एमालेनिकट व्यक्ति नै सो संस्थाको पदाधिकारी बने । जसमा जीवराज घले अध्यक्ष, क्या. मिलबहादुर गुरुङ उपाध्यक्ष, गणेश गुरुङ सचिव, लोकबहादुर गुरुङ संगठन सचिव, पूर्णसिंह गुरुङ प्रचार सचिव, गमबहादुर गुरुङ कोषाध्यक्ष छन् भने सदस्यहरूमा पनि सबै एमालेनिकट देखिएका छन् ।
वरिष्ठ उपाध्यक्षमा कांग्रेसका खजिन्द्र गुरुङ र सहकोषाध्यक्षमा विकास गुरुङबाहेक सबै एमालेका कार्यकर्ता भएको स्रोतको दाबी छ । दुई सदस्य पछि थप्ने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को कार्यक्रम १२ गते अबेर मात्रै सम्पन्न भएको हो ।
– अञ्जनकुमार हिमाली
टिप्पणीहरू