रुसी तेल डिपोमा युक्रेनी सेनाको आक्रमण, भीषण आगलागी

रुसी तेल डिपोमा युक्रेनी सेनाको आक्रमण, भीषण आगलागी

युक्रेनले सिमाना नजिकैको रुसी शहर बेल्गोरोदमा आक्रमण गरेको छ । शहर नजिकै रहेको तेल भण्डारण केन्द्र (डिपो) मा युक्रेनी हेलिकप्टरबाट गरिएको आक्रमणपछि भीषण आगलागी भएको छ ।

शहरका गभर्नरले दिएको जानकारीअनुसार युक्रेनी वायु सेनाका दुई वटा हेलिकप्टरले निकै तलबाट गरेको आक्रमणका कारण डिपोमा आगलागी भएको हो । तर मानवीय क्षति नभएको बताइएको छ ।

उक्त समाचारको रुसी समाचार समिति तासले पनि पुष्टि गरेको छ । तासले त्यहाँका आपतकालीन मन्त्रीलाई उद्धृत गर्दै उक्त समाचार लेखेको हो । डिपोमा कार्यरत दुई जना कर्मचारी आगोका कारण घाइते भएका छन् भने डिपो नजिकैका आवासीय भवनमा रहेका स्थानीयलाई सुरक्षित ठाउँमा लगिएको छ ।

उक्त डिपोमा रहेका १० वटामध्ये दुई वटा ट्याङ्कीमा आगो लागेको छ । अरु आठ वटामा समेत गरेर १६ हजार वर्गमिटर अर्थात ३५ लाख २० हजार ग्यालन तेल भण्डारण गरिएको छ ।

क्रेमलिनका प्रवक्ताले युक्रेनले सीमावर्ती शहरको तेल भण्डारणमा गरेको आक्रमणबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइसकिएको बताएका छन् ।

टिप्पणीहरू