वकिलको नेता छान्ने अभियान शुरु,मतदान जारी
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छान्ने क्रम शुरु भएको छ । आज मुलुकभरका वकिलहरुले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान गर्दैछन् । काठमाडौंको मतदान केन्द्र सर्वोच्च अदालतमा राखिएको छ । त्यहाँ मतदानको निम्ति वकिलहरु बिस्तारै लाइन लागेका छन् ।
सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुले तालमेल गरेर उम्मेदवार उठाएका छन् । प्रतिस्पर्धामा अर्कातिर नेकपा एमाले निकट कानुन व्यवसायीहरु छन् । दुवै पक्षले आफ्नो विजय सुनिश्चित भएको बताएका छन् । तर, बाजी मारेको थाहा पाउन नतिजा नै कुर्नुपर्ने स्वतन्त्र भनिएका वकिलहरुको भनाइ छ ।
समग्रमा गठबन्धनका उम्मेदवार अगाडि देखिए पनि कार्यसमितिका सबै २५ जनामा विजयको सम्भावना कम रहेको बताइन्छ । अघिल्लो पटक २५ मा २२ सीट वामपन्थीले जितेका थिए । बारको चुनावलाई नजिकबाट हेरिरहेका एक जना वरिष्ठ अधिवक्ताले भने, ‘तीनदेखि चार जना एमाले उम्मेदवारले जित्न सक्छन् ।” उनीहरूले महासचिवमा केदार कोइराला र सदस्यहरुमा ताराकुमार श्रेष्ठ र युवककुमार गौतमको सम्भावना देखेका हुन् ।’तर,कूल गठ्वन्धनको मत १५ सय बढी भएको हुँदा फ्लोर क्रस नभए एमालेलाई यता पनि सेट ब्याक हुने खतरा जिउँदै छ ।
“यसपटक वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल,हरि उप्रेतीलाई अध्यक्ष दिएको भए वाम गठबन्धनले सबै पद बढार्ने निश्चित थियो ।”
अन्य संघ संस्थामा भन्दा बारमा जहिले पनि राजनीतिक जोड घटाउ भन्दा पेशागत क्षमता र अनुभवलाई हेरिने परम्परा छ । एक जनाले हाकाहाकी भने, ‘अध्यक्ष र महासचिवमा तुलनात्मक रुपमा पेशागत हिसाबले खारिएको मान्छे चाहिन्छ । अघिल्लो पटक झैं अहिले पनि गठबन्धनले महासचिवमा त्यो पक्षलाई ध्यान दिएको पाइएन ।’
उपाध्यक्षलगायत अन्य पदमा गठबन्धन अगाडि हुने सम्भावना प्रवल छ । उपाध्यक्ष प्रायः क्षेत्रगत रुपमा उठाउने व्यवस्था छ । बारको निर्वाचनमा वामपन्थीहरुको तालमेल हुन नसक्नुमा धेरै कारणले काम गरेको बताउन थालिएको छ । वामपन्थीहरु विभाजन हुँदा सँधै काँग्रेसले सहज रुपमा जित्ने माहौल बन्दै आएको हो ।
बारमा पहिलेदेखि वरिष्ठ भनेर चिनिएका वामपन्थी नेतृत्वले सबैलाई समेटेर लान नसकेको परिणाम अहिलेसम्म देखिएको बताइन्छ । उनीहरुको राजनीतिक नेतृत्वसँग रहेको असन्तुष्टिले वामपन्थीहरुबीच सहकार्य हुन नसकेको हुनुपर्छ ।
यसपटक वरिष्ठ अधिवक्ता पूर्वमहान्यायाधिक्ता रमण श्रेष्ठले अध्यक्ष बन्न चाहना राखेका थिए । उनलाई अध्यक्ष नदिएपछि माओवादीले अञ्जिता खनाललाई महासचिवमा अघि सारेको हो ।
यसपटक वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल,हरि उप्रेतीलाई अध्यक्ष दिएको भए वाम गठबन्धनले सबै पद बढार्ने प्रवल सम्भावना थियो । तर अन्तिम घडीमा ‘एप्रोच’ गरेकाले उहाँहरुले खासै ध्यान नदिएको स्रोतको दाबी छ । गठबन्धनको नाममा सबैजसो महत्वपूर्ण पदमा काँग्रेसनिकट वकिलकै बर्चस्व हुने छाँट देखिएको छ ।
यसअघि पत्रकार महासंघ,राष्ट्रिय सभा, इञ्जिनियर एसोसिएसन,चार्टर्ड एकाउण्टेण्ट संस्थामा पनि काङ्ग्रेसले बाजी मारेको हो । बारको नेतृत्व चयनले राजनीतिक पक्षमा सिम्बोलिक असर पार्ने गर्छ ।
टिप्पणीहरू