पेट्रोलियम व्यापारीको अनौठो माग,सबै पम्प बन्द
पेट्रोलियम व्यवसायीले आजदेखि पम्पहरू बन्द गरेका छन् । अस्तिसम्म ल्याइएको पेट्रोलियम पदार्थ बाँकी भएकाले आज बिहानसम्म पम्प खोले पनि दिउँसोबाट ढुवानी नगरिने भएकाले पम्पहरु बन्द भएका हुन् ।
उनीहरुले निगमको डिपोबाट हिजोदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् । आजबाट सबै पम्प बन्द गरिएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले बताए । उनले आफ्ना माग पूरा नभएसम्म पम्प बन्द हुने जानकारी दिए ।
निगमले व्यवसायीलाई पेट्रोलमा प्रतिलिटर ३ दशमलव ३५ प्रतिशत कमिसनको व्यवस्था गरेको छ भने डिजलमा ३ दशमलव २१ प्रतिशत तोकेको छ । तर उनीहरुले मूल्य बृद्धिअनुसारको प्रतिशत वृद्धि गर्नुपर्ने माग तेर्साएको निगम स्रोतले बताएको छ । निश्चित रकम तोकेको भए बृद्धिको औचित्य रहन्थ्यो तर प्रतिशतमा तोकेको कमिशनलाई बढाउने वा घटाउने भन्ने माग नै अचम्म भएको निगमका अधिकारीहरुको दाबी छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्त रूपमा गरेको आन्दोलनका कारण एक हजार चार सय ट्याङ्कर र एक हजार बुलेटबाट आयात गरिँदै आएको पेट्रोल,डिजल,मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको आपूर्तिमा असर परेको छ ।
व्यवसायीले आन्दोलन गरे पनि नेपाली सेना, प्रहरी,सशस्त्र प्रहरी र साझाको पम्प भने नियमित झैँ खुला हुने बताइएको छ ।
टिप्पणीहरू