हिमाली बस्तीमा नौलो चुनाव प्रचार !
धादिङको विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले आफ्ना दलबलसहित हिजो सेर्तुङ पुगेका छन् । नेकपा एमालेसँगको विद्रोहपछि बनेको नेकपा एकीकृत समाजवादीले एक वडाबाट अर्काे वडा जाने नौलो अभियान चलाएको हो ।
प्रचारमा अगुवा नेता मात्रै होइन एउटा गाउँका सबै मिलेर अर्काे गाउँ पुग्ने गरेका छन् । हिजो रुविभ्याली–१ र २ का नेकपा एकीकृत समाजवादी निकट मतदातासमेत करिब चार घण्टा हिँडेर रुविभ्याली–३ को सेर्तुङमा प्रचार गर्न पुगेका हुन् ।
दलहरुको प्रचार अघिल्ला निर्वाचनकोभन्दा यसपटक फरक देखिएको छ । पहिले उम्मेदवारको टुंगो लागिसकेपछि केही कार्यकर्ताको साथमा उम्मेदवारहरु गाउँ बस्तीमा डुल्थे । एउटा वडाको मतदाता अर्काे वडामा प्रचारको लागि पुगेको खासै देखिँदैन थियो । तर,यो पटक रुविभ्यालीका स्थानीय नेताहरु मतदातासहित एक वडाबाट अर्काे वडामा प्रचारको लागि हिँडिरहेका छन् ।
रुविभ्याली गाउँपालिका–१, तिप्लिङबाट रुविभ्याली–३,सेर्तुङमा दलबलसहित पुगेका जीवन तामाङ भन्छन्, ‘अब उम्मेदवार नेतृत्वले होइन मतदाताले छान्ने हो । त्यसैले हामी पार्टीमा आस्था राख्नेहरु सबैजना गाउँगाउँ डुलिरहेका छौं । मतदातासँग नै उम्मेदवार खोजिरहेका छौं ।’
दृष्य हेर्दा लाग्छ मतदान हुने दिन आउन केही दिन मात्रै बाँकी छ । एउटा डाँडा नाघेर अर्काे बस्ती पुगेका नेता, कार्यकर्तालाई स्थानीयले पनि राम्रै आश्वासन दिने गरेका छन् । काँधमा झण्डा बोकेर चुनावी प्रचारमा पुगेका मेन घलेलाई रुविभ्याली–३, अल्यानटोलका एकजना मतदाताले भने,‘जे छ मनमा छ काका,चिन्ता नगर्नुस् । हामी आउँछौं, ढुक्क साथ हिँड्नुस् ।’
आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा बोकेका नेता,कार्यकर्ताको लावालस्करले गाउँमा चुनावको रौनक निकै देखिएको छ । २०७४ को स्थानीय चुनावमा राप्रपाका उम्मेदवार विजयी भएको रुविभ्यालीमा नेकपा माओवादी केन्द्र,नेपाली काँग्रेस र नेकपा एमालेले पनि जोडतोडका साथ प्रचार गरिरहेका छन् । महिला,पुरुष,युवा युवतीको उत्साहपूर्ण लस्कर झट्ट देख्दा लाग्छ ‘यो पटक पनि रुविभ्यालीमा कुनै पार्टीलाई पनि सहज छैन ।’
एमाले केन्द्रीय सदस्य खेम लोहनी, संविधानसभा सदस्य धनबहादुर घलेसहितका नेताहरु तीन दिनदेखि हिमाली बस्तीहरुमा प्रचारको निम्ति घुमिरहेका छन् । खनियाबास हुँदै शुक्रबार रुविभ्याली पुगेका लोहनीसहितका नेताहरु यो पटक रुविभ्यालीलाई आफ्नो पक्षमा ल्याउन मरिमेटेर लागेका छन् । ‘जिल्लाभरि नै समानान्तर ढंगबाट कार्यक्रमहरु अघि बढिरहेको छ’, एमाले धादिङका उपसचिव राधिका सापकोटा भन्छिन्,‘यतिबेला शहरभन्दा विकट बस्तीहरुमै धेरै कार्यक्रम गरिरहेका छौं ।’
माओवादीका रामसिंह तामाङसहितका नेता कार्यकर्ता पनि रुविभ्यालीका बस्तीमा विभिन्न गतिविधि गरिरहेका छन् । मतदाताको घरमा पुगेर आफ्नो पार्टीको चुनाव हिन्हमा मतदान गर्न भनिरहेका छन् । उम्मेदवारको टुंगो लगाउनुअघि नै यस्तो प्रचारले यो पटक रुविभ्यालीसहित उच्च पहाडी र हिमाली बस्तीमा चुनावले माहौल तातेको प्रष्ट देखिएको छ ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे पनि चुनावी प्रचारकै लागि हिजो सेर्तुङको सदाचेत पुगेका छन् । शुक्रबार खनियाबास र रुविभ्यालीका ठाउँ ठाउँमा चुनावी सभा गरेर उनी फर्किएका छन् ।
नेपाली काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानलाई ग्रामीण बस्तीहरुतिरै लक्षित गराएको छ । काँग्रेसका जिल्ला नेताहरु भक्त लामा र बासु तिमल्सिना पनि उत्तरी बस्तीमै व्यस्त छन् । चैत २१ गतेभित्र उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरिसक्नु पर्ने भएकाले धेरैजसो नेताहरु सदरमुकाम आसपासमै छन् ।
राप्रपाका नेता कार्यकर्ता पनि आफ्नो पार्टीको प्रभाव जमाउने गरी ‘चुनावी मिसन’ मा छन् । पहिलो स्थानीय चुनावमा रुविभ्यालीबाटै आफ्नो साख जोगाएको राप्रपाले यस पटक पनि दोहोर्याउने दाउमा छ ।
प्रमुख पार्टीका प्रभावशाली नेता र कार्यकर्ताको गाउँ प्रवेशसँगै सम्भावित चुनावी परिदृश्यको बारेमा चोक चौतारा, चियापसल र मेलापातमा समेत छलफल तीव्र बनेको छ । धादिङमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय छन् ।
निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार धादिङमा दुई लाख ७३ हजार एक सय ९३ मतदाता छन् । त्यसमध्ये तामाङ समुदायको बाहुल्यता रहेको रुविभ्यालीमा जिल्लाको १३ पालिकामध्ये सबैभन्दा थोरै आठ हजार आठ सय ७८ जना मतदाता छन् ।
टिप्पणीहरू