बम पड्काउने चार जना फेला परे
इटहरीमा बम विष्फोटन गराएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ बस्ने २० वर्षीय रविन थापा, ३२ वर्षीया लक्ष्मीदेवी थापा, लमजुङ ढोडेनी गाउँपालिका–७ बस्ने २३ वर्षीय शेरजंग गुरुङ र झापा कन्काइ नगरपालिका–८, लक्ष्मीपुर बस्ने ४३ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेल हुन् ।
उनीहरुले इटहरी उपमहानगरपालिका–२ मा डेरा गरी बस्ने लक्ष्मीदेवी थापाको कोठामा गत सोमबार बम विष्फोट गराएका थिए । विस्फोटपछि प्रहरीले शेरजंग गुरुङ र लक्ष्मी थापाका छोरा रविन थापालाई घाइते अवस्थामा फेला पारी उपचारको निम्ति अस्पताल पुर्याएको थियो ।
प्रहरीको अनुसन्धानबाट उनीहरु उक्त घटनामा संलग्न रहेको देखिएकाले रविन र शेरजंगलाई उपचार पश्चात, लक्ष्मीदेवीलाई इटहरी उपमहानगरपालिका–२ बाट र घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई काकडभिट्टाबाट पक्राउ गरिएको हो । उनीहरूविरुद्ध जिल्ला अदालत सुनसरीबाट बम विष्फोटन र संगठित अपराध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू