३ एआइजीबिरुध्द ३ डीआइजीको मुद्दा हेर्न नमिल्ने

३ एआइजीबिरुध्द ३ डीआइजीको मुद्दा हेर्न नमिल्ने

नेपाल प्रहरीको एआइजी बढुवामा विभेद भएको भन्दै सर्वोच्च अदालत गुहार्न पुगेका तीन डीआइजीले दायर गरेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइका लागि पेशी चढेको मुद्धा हेर्न नमिल्नेमा परेको हो ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर गत बिहीबार डीआइजीहरू ईश्वरबाबु कार्की,घनश्याम अर्याल र प्रकाशजंग कार्कीले रिट दायर गरेका थिए । लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन् । रिटमा कनिष्ठलाई एआइजीमा बढुवा सिफारिस गरिएको दाबी गर्दै बदरको माग गरिएको छ ।

उनीहरूले सर्वोच्च जानुअघि बढुवाविरुद्धको सुनुवाइ समितिमा पनि उजुरी हालेका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि गत बिहीबार बिहान बसेको क्याबिनेट बैठकले एआइजीमा सिफारिस भएका वसन्तकुमार पन्त,धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको थियो ।

वरीयताको तेस्रो स्थानमा रहेका पन्त, छैटौँमा रहेका सिंह र आठौँमा रहेका धानुकलाई गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले बढुवा गर्न सिफारिस गरेको उजुरकर्ताहरुको जिकिर छ । समितिले वरियता मिचेर कनिष्ट डीआइजीहरूलाई एआइजी बनाएपछि डीआइजीत्रय ईश्वरबाबु, घनश्याम र प्रकाशजंग न्याय खोज्दै सर्वोच्च पुगेका हुन् ।

टिप्पणीहरू