व्यापारीहरुको निर्वाचनमा गठबन्धनको अभ्यास
पाँचथर उद्योग वाणिज्य संघको १२औँ अधिवेशनमा सत्तारुढ चार दल निकट व्यवसायीहरुले गठबन्धनको अभ्यास गरेका छन् ।
आजको मतदानमा सरकारमा आबद्ध दलहरु नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट व्यवसायीबीच गठबन्धन भएको हो ।
चारदलीय गठबन्धनको तर्फबाट काँग्रेस निकट व्यवसायी नरेन्द्रप्रसाद अधिकारी अध्यक्षको उम्मेदवार बनेका छन् । अधिकारीविरुद्ध एमाले निकट नवराज घिमिरेले प्रतिस्पर्धा गरेका छन् । घिमिरेको टिममा राप्रपासहितको गठबन्धन छ ।
चारदलीय गठबन्धनका व्यवसायी र एमाले निकट व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा भएको वाणिज्य संघको उक्त निर्वाचनलाई दलहरुले मत सर्वेक्षणको रुपमासमेत लिएका छन् ।
‘यो गठबन्धन वाणिज्य संघको चुनावका लागि मात्र नभएर स्थानीय तहको निर्वाचनको अभ्यास पनि हो,’ काँग्रेसका एक नेताले भने ‘यो अभ्यासले स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने कुराको संकेत गर्छ ।’
आजको निर्वाचनमा एक हजार पाँच सय ३० जना व्यवसायीले मतदान गर्ने संघका कार्यकारी अधिकृत भीम कार्कीले जानकारी दिए ।
टिप्पणीहरू