डाक्टरको जाँचमा नक्कली काम गर्ने को-को समातिए ?
चिकित्सा शिक्षा स्नातक तहको परीक्षामा नक्कली परीक्षार्थी रहेका पाँच जना समातिएका छन् । राजधानीको किष्ट कलेजमा एमबीबीएस अध्ययनरत उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा २२ वर्षका अमर पण्डित,२२ वर्षका अनिकेत चौधरी,२६ वर्षका रामआशिष यादव,२४ वर्षका ईस्तियाख अहमद,२३ वर्षका सन्नीकुमार साह छन् ।
प्रहरीको अपराध महाशाखाका अनुसार नक्कली परीक्षार्थी बनेर सहभागी भएको आरोपमा पक्राउ परेकामध्ये पण्डित र चौधरी एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । यादव भने एमबीबीएस तेस्रो वर्षका विद्यार्थी हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले गरेको अनुसन्धानका क्रममा एमबीबीएस प्रथम र तेस्रो वर्षमा अध्ययरत विद्यार्थी नै नयाँ भर्नाका लागि एकीकृत प्रवेश परीक्षामा नक्कली परिक्षार्थीहरू बनेर सहभागि भएको भेटिएको हो ।
विशेष सूचनाका आधारमा प्रहरीले एमबीबीएसको प्रवेश परीक्षा भइरहेका केन्द्रमा छापा हानेर पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई विभिन्न प्रलोभन दिएर नक्कली परीक्षार्थी बनाएको फेला परेको छ । यस्तै, सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसेर फारम भर्न लगाएको महाशाखाले जनाएको छ ।
टिप्पणीहरू