घरकैलाई वास्ता छैन, बाहिर बटुल्ने दाउ
माधव नेपालहरुले विद्रोह गरेर हिँडेपछि एमालेमा कुनै असन्तुष्टि, गुनासा या आलोचना छैन भनिन्छ । केपी ओलीलाई ’बा’ भन्नेहरु मात्र होइन, पूर्वमाओवादी र १० बुँदेवालाहरु पनि ओलीको सामुन्ने नतमस्तक नै देखिन्छन् । तर, बाहिरबाट हेर्दा सिंगो एमाले ओलीमा केन्द्रित देखिए पनि भित्री कथा भने अलि फरक छ ।
पछिल्लो समय निकटहरु नै ओलीको कार्यशैलीलाई लिएर सशंकित हुँदा एमालेमा भित्रभित्रै असन्तुष्टि भुसको आगोझैँ दन्किँदो छ । पार्टीमा लामो समय योगदान गरेका र अप्ठेरो अवस्थामा काँध हालेकाहरु भन्दा नवप्रवेशीले बढी महत्व पाउन थालेपछि असन्तुष्टि बढेको ’बा’ भन्नेहरु बीच नै चर्चा छ ।
केही दिनअघि ओलीका विश्वासपात्र गोकुल बाँस्कोटा एभिन्युज टेलिभिजनको एउटा कार्यक्रममा अन्तर्वार्ताका लागि गएका थिए । त्यसअघि पत्रकारहरुसँगको अनौपचारिक कुराकानीमा उनले ओलीको कार्यशैलीको अमूर्त भाषामा आलोचना गरे । बताइएअनुसार बाँस्कोटाले भनेका थिए, ‘पार्टीमा अहिले उहाँ (ओली) को आलोचना गर्ने कोही पनि छैन, उहाँले जे भन्यो त्यही हुने अवस्था छ । तैपनि कोसँग, केको डर हो, थाहा छैन !’ बाँस्कोटाको यो भनाईले एमालेमा भित्रभित्रै गुम्सिएर रहेको असन्तुष्टिले चुनावमा हुने टिकट वितरणसम्म पुग्दा बिष्फोटको रुप लिनसक्ने संकेत गर्छ ।
चुनावी माहोल आफ्नो पक्षमा देखाउन अनेक तडकभडक गरेर पार्टी सग्लो रहेको सन्देश दिन खोजे पनि व्यवहारतः एमाले फुटेको छ । दुई पूर्वप्रधानमन्त्री तथा अध्यक्ष र महासचिव रहिसकेकासहितको ठूलो पंक्ति एमालेमा छैन । चुनाव चिन्हको लोभले अपमान सहेर पार्टीमै बसेकाहरुले पनि शीर ठाडो पारेर बोल्न सकेको देखिंदैन । आधा दर्जन उपाध्यक्ष निरिह भएर ओलीका सामु नतमस्तक छन् ।
कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका र सिङ्गै जीवन पार्टीलाई सुम्पेका नेताहरु भूमिकाबिहीन हुँदा करिश्मा मानन्धर र प्रेमबहादुर सिंहदेखि बृजेशकुमार गुप्ता हुँदै वीरगन्जका मेयर विजय सरावगीसम्मलाई महत्वका साथ भिœयाउन अध्यक्ष ओलीलाई भ्याईनभ्याई छ । चुनाव जित्न अन्य पार्टीका नेता–कार्यकर्तालाई एमालेमा तान्नु स्वभाविक भए पनि पुरानालाई बेवास्ता गरेर नयाँ पात्र खोज्दै हिंड्नुका पछाडिको रहस्य नबुझेर होला ओलीलाई ’बा’ भन्नेहरु नै आशंकित हुनु परेको ।
त्यतिमात्र होइन, प्रदेश र संघको चुनावमा कसलाई टिकट दिने, कसलाई जिताउने र कहाँ हराउनेसम्मका हरहिसाब एमालेमा शुरु भैसकेको छ । अध्यक्ष ओलीको प्रशंसा गर्दागर्दै पनि योगेश भट्टराईले ताप्लेजुङबाट टिकट पाउने अवस्था छैन भन्न थालिएको छ । भट्टराईलाई चुनाव नजितिने क्षेत्र झापा झारेर त्यहाँ तिलकुमार मेयाङ्बो या माओवादीबाट आएका टंक आङबुहाङलाई उठाउने तयारीमा ओली लागिसक्नुभएको निकटहरु सुनाउँछन् । ताप्लेजुङमा चुनाव जित्न नसक्ने चित्र देखाएर ओलीले योगेशलाई झापा झर्न भनिसकेको निकट एक नेताले बताए ।
यसबाट दुईवटा कुरा प्रष्ट बुझिन्छ– पहिलो, ओलीनिकट भनिएकाहरु नै एमालेमा सन्तुष्ट छैनन् । दोस्रो, सुरेन्द्र पाण्डेबाहेक १० बुँदेवालाहरुले आफ्नो पुरानो निर्वाचन क्षेत्र पाउने सम्भावना त झन् कम छ । ओलीले भनेको ठाउँमा गएर खुरुक्क लड्ने या समानुपातिकमा बस्नेबाहेक अर्को विकल्प उनीहरुसँग हुनेछैन । १० बुँदेवालाहरुमा पनि घनश्याम भुसाल, भीम रावल, झपट रावल, दिपकप्रकाश भट्ट, पवित्रा निरौला खरेललगायतले टिकट पाउने सम्भावना कम छ । पाइहाले पनि उनीहरुलाई हार्ने ठाउँ खोजी खोजी त्यता पठाउने तयारी भइरहेको बताइन्छ ।
त्यसो त, ओलीले विगतमा जे–जे भए पनि माधव नेपाल, झलनाथ खनाललाई छोडेर एमालेमा बस्नेहरुलाई जिम्मेवारी दिँदा भेदभाव नहुने भन्दै आउनुभएको छ तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । आफ्नो सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा लाइन लागी हस्ताक्षर गर्नेहरुप्रति त्यति सजिलै पग्लिने ओलीको स्वभाव पनि होइन ।
त्यसैले जुनसुकै बेला फायर खोलिनसक्ने डर १० बुँदेवालाहरुमा देखिन्छ । आफ्नो अडानमा दायाँबायाँ नहुने र आफूविरुद्ध उभिनेलाई वरपर पर्नै नदिने ओलीको स्वभावका कारण पछिल्लो एक वर्षमा एमालेले ठुल्ठूला राजनीतिक नोक्सानी व्यहोरिसकेको छ ।
जस्तो गत वर्ष फागुन २३ गते अदालतले एमाले ब्युँताइदिएपछि फागुन २८ गते माधव नेपालहरुलाई बाहिर राखेर ओलीले एकलौटी बैठक नराखेको भए सम्भवतः संघ र प्रदेशका सरकार एमालेले गुमाउनु पर्दैनथ्यो । नेकपा हुँदा राजनीतिक रुपले कोमामा पुग्नुभएका ओलीलाई निर्वाचन आयोग र सर्वोच्चले एमाले जिम्मा लगाइदिएर प्राण भरिदिएको हो । तर, माधव नेपालहरुसँगको तुस फेर्न ओली एक्लै हिंड्न थालेपछि एमालेमा विभाजनको रेखा कोरिएको भन्ने र मान्नेहरु धेरै छन् । ओलीले अहिलेसम्म पनि त्यसलाई महसुस गरेको देखिंदैन ।
पछिल्लो समय एमसीसीको च्याँखे थापेर सत्ता गठबन्धन तोड्ने रणनीति पनि उहाँको कार्यशैली र स्वभावकै कारण असफल भयो । गठबन्धन तोड्ने शर्तमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग एमसीसीको पक्षमा उभिने मोटामोटी सहमति गरिसक्नुभएको थियो । प्रधानमन्त्रीबाट फुस्केपछि बालुवाटारमा खुट्टो नटेक्ने सार्वजनिक घोषणा गर्नुभएका उहाँ गठबन्धन टुटाउने उद्देश्यले लुरुलुरु बालुवाटार जानुभयो ।
तर, माधव नेपालसहित १४ जनामाथि कारवाही र सभामुखसमेत फेर्नुपर्ने शर्त थपेपछि कांग्रेसले तत्कालै निर्णय दिन सकेन । गठबन्धन तोड्नु नै थियो भने १४ जनाको के कुरा ! एमालेले एमसीसीमा ओके गर्नेबित्तिक्कै गठबन्धन त भत्किसकेको थियो । तर, ओलीको स्वभावले झुक्न दिएन । फलतः कांग्रेसले एमालेसँग सहमति गर्दैछ भन्ने बुझेर प्रचण्ड र माधवहरु आफैँ एमसीसीमा सहमत हुँदा ओलीले खेल हार्नुप¥यो भनिन्छ ।
टिप्पणीहरू