पूर्व पञ्चहरु मिल्लान् त एमालेसँग ?
आउँदा चुनावहरुमा केपी ओली र उहाँको पार्टीलाई पराजित गर्ने रणनीतिमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि सरिक भएको छ ।
झापासहित देशका विभिन्न भागमा स्थानीय तह निर्वाचनदेखि नै तालमेल गर्ने र संसदीय चुनावमा त्यसलाई व्यापक बनाउनेबारे लिङ्देनले हालै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेको स्रोतले जनाएको छ ।
ओलीले चाहिँ आफ्नो गृहनगर दमकमा तालमेल गरेर राप्रपाका राम थापालाई मेयरमा सघाई प्रतिनिधिसभामा ०७४ सालको राजेन्द्र लिङदेन र आफ्नो भागबण्डा जस्तै स्थिति बनाउने सोच राख्नुभएको बुझिन्छ । थापा पहिला एमालेका रोमनाथ ओलीसँग सात सय मतले पराजित भएका थिए । अहिले उनी लिङदेनतिर छन् ।
लिङ्देन आफैँ पनि ओलीलाई ‘सक्नैपर्ने’ लाइनमा छन् । विभिन्न व्यक्तिमार्फत ओलीले भेट्न सन्देश पठाए पनि उनी नजाने नै पक्षमा छन् ।
उता, कमल थापाले राप्रपा नेपाल नाममा नयाँ दल त खोले । तर, उक्त दल जसको नाममा दर्ता छ, उनीहरुचाहिँ लिङ्देनतिर जाँदैछन् । २५ गते टुँडिखेलमा हुने आमसभाबाट राप्रपा नेपालवालाहरु पार्टी प्रवेश गर्ने स्रोतले जनाएको छ । अध्यक्ष ल्हाक्पा लामाचाहिँ कमल थापासँगै छन् ।
त्यस्तै, हिजो कमल थापालाई अलोकप्रिय बनाउनमा भूमिका खेल्ने मोहन श्रेष्ठहरु अहिले लिङ्देनको ‘किचेन क्याबिनेट’ मा हावी भएको आरोप छ । पञ्चायती गृहमन्त्री निरञ्जन थापालाई सल्लाहकार समितिको प्रमुख बनाउने चिठीमा आइतबार सही गर्ने मान्छे यिनै हुन् ।
यसबीच, कमल थापालाई महामन्त्री कुन्ती शाहीले सहयोग नगर्ने भएकी छन् । उनले लिङ्देनकै पार्टीमा रहने निश्चित भएको स्रोतले जनाएको छ ।
टिप्पणीहरू