पाँच वडाध्यक्षसहित बेदकोटका मेयर समाजवादीमा समाहित
नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरपालिका मेयर अशोक चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेका मेयर चन्दलाई आज पार्टीमा स्वागत गर्नुभएको हो ।
मेयरसँगै बेदकोट नगरपालिकाका पाँच जना वडाअध्यक्ष र एमालेका दर्जनौँ नेता पनि समाजवादीतिर लागेका छन् । एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना,जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशीलगायतका नेता तथा कार्यकर्तासमेत समाजवादीमा समाहित भएका हुन् ।
१० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेले जितेको थियो । चन्दको व्यक्तिगत प्रभावले बेदकोटमा प्रभावशाली देखिएको एमाले चुनावको मुखमा निर्वाचित जनप्रतिनिधिसहित ठूलो संख्यामा नेता-कार्यकर्ताले छोडेपछि कमजोर हुने आकलन गरिएको छ।
एमालेमा रहँदा माधव नेपाल समूहमा रहेका चन्द जिल्ला अधिवेशनमा सचिव पदमा लडेर हारेका थिए । विगतमा माधव समूहमा रहेकै कारण केपी ओली निकटहरुले नियोजित रुपमा हराएको भन्दै उनी असन्तुष्ट थिए ।
टिप्पणीहरू