प्रधानमन्त्री चढेको विमान डेढ घण्टा ढिलो, अधिकांश यात्रु आगो

प्रधानमन्त्री चढेको विमान डेढ घण्टा ढिलो, अधिकांश यात्रु आगो

भारत भ्रमणबाट हिजो साँझ स्वदेश फर्कनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको प्रतिनिधिमण्डल चढेको विमान यसअघि सार्वजनिक गरिएको समय तालिकाभन्दा झण्डै डेढ घण्टा ढिलो काठमाडौंमा अवतरण गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीबाट उडेको नेपाल वायुसेवाको नियमित उडानको जहाज साँझ पौने ८ बजे मात्र काठमाडौंमा अवतरण गरेको थियो । भ्रमण तालिकाअनुसार उक्त विमान सवा ६ बजे आइपुग्ने कार्यक्रम थियो ।

हिजो प्रधानमन्त्री नयाँ दिल्लीबाट उत्तर प्रदेशको काशी जानुभएकाले फर्कन ढिलो भएको बताइएको छ । नयाँ दिल्लीबाट वाराणसी र वाराणसीबाट नयाँ दिल्लीको निम्ति एअर इण्डियाको विमान प्रयोग गरिएको थियो ।

उहाँ काशीमा विभिन्न कार्यक्रममा सहभागी भएर दिल्ली फर्कंदा ढिलो भएकाले काठमाडौं आउने उडान समेत बिलम्ब भएको निगम स्रोतले बताएको छ । प्रधानमन्त्री ५५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा जानुभएको थियो ।

नेपाल वायुसेवा स्रोतले भने हिजो बिहानको उडान नै तीन घण्टा ढिलो भएको थियो । दिउँसोको पनि त्यसैगरी ढिला भएकाले प्रधानमन्त्री आउनुभएको उडान पनि स्वतः ढिलो भएको बताएको छ । हिजो बिहान काठमाडौं विमानस्थलमा सुरक्षासँग सम्बन्धित कारणले ढिलो भएको उडान दिउँसो पनि त्यस्तै भएको निगमको दाबी छ । तर, दुवै उडानका यात्रु भने जानाजान घण्टौं ढिलाइ गरिएको बताउँछन् । ‘प्रधानमन्त्री काशीबाट फर्कन ढिलो हुने भएपछि जानाजान हाम्रो उडानलाई बिहानैदेखि ढिलो बनाइयो,’ प्रधानमन्त्रीसँगै काठमाडौं फर्केका एक जना यात्रुले भने ।

टिप्पणीहरू