डिआइजीका मुद्दा आज पनि हेर्न नमिल्ने

डिआइजीका मुद्दा आज पनि हेर्न नमिल्ने

प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुध्द दायर गरेको रिटको पेशी आज पनि तोकिएको छ ।

हिजो न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको थियो । तर, उक्त मुद्दालाई हेर्न नमिल्ने सूचीमा राखियो । आज पनि रेग्मीकै इजलासमा उक्त रिटको पेसी परेको छ ।

तीन जना डिआइजी गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआइजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन् । रिटमा उनीहरूले कनिष्ठ डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको जिकीर गर्दै बढुवा सिफारिसको निर्णयलाई बदरको माग गरेका छन् ।

सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुध्द सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेपछि मन्त्रिपरिषद्ले डिआइजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने प्रस्ताव सदर गरेको हो ।

डिआइजीको वरियतामा पन्त तेस्रो, सिंह छैटौँ र धानुक आठौँ स्थानमा थिए भन्ने उजुरकर्ताको जिकिर छ ।

टिप्पणीहरू