चिनियाँ मन्त्रीले जंगलको बाटो रोज्दा

चिनियाँ मन्त्रीले जंगलको बाटो रोज्दा

‘नजिकको तीर्थ हेलाँ’ भनेजस्तो काठमाडौंभित्रै संसारलाई तान्ने सम्पदा र अवलोकनस्थल छन् । नेपालीचाहिँ युरोप–अमेरिका पुगेर स्वर्गै पुगेझैँ बयान गर्छन् ।

भर्खरै काठमाडौंको तीन दिने भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी हुन्, हामीले पनि हत्तपत्त हिँड्न नचाहेको पैदलयात्रा मार्ग (हाइकिङ रुट) को मज्जा लिएर फर्किने पाहुना । काठमाडौंबाट उत्तरीभेगको नुवाकोट जिल्लासँग जोडिने तीनपिप्लेसम्म गाडीमा पुगेर ओर्लिएका मन्त्री वाङ त्यहाँबाट सवा चार घण्टा हिँडेर झोर महांकाल हुँदै होटलमा प्रकट भए । वाङसहितको टोलीले उक्त जंगली यात्रामा कुनै डर, कष्ट र झन्झट नमानेको देख्दा नेपाली सुरक्षाकर्मीहरु अचम्मित छन् ।

शनिबार विहान ७ः३५ बजे बत्तीसपुतलीस्थित होटल द्वारिकाज्बाट निस्किएको वाङको टोली हाइकिङ सिध्याएर दिउँसो साढे १२ः३२ बजे बल्ल फर्किएको थियो । त्यसरी एउटा शक्तिराष्ट्रका महŒवपूर्ण राजकीय परिषद् सदस्यले जंगल–जंगलै हिँड्ने रहर गरेपछि नेपाली सुरक्षाकर्मी अघिल्लै दिनदेखि खटिए भने विदेश जाँदा होटलमै गजधम्म बसेर भुँडी हाल्ने आफ्ना नेताहरुको चालामाला सम्झेर ती आफैं दंग परेका छन् ।

वाङ हाइकिङमा जाने सूचना पाउनासाथ नेपाली सेना, प्रहरी र सशस्त्रले अघिल्लो दिनदेखि आ–आफ्ना टोलीलाई विभिन्न किसिमले परिचालन गरेका थिए । त्यसक्रममा हजारभन्दा बढी सुरक्षाकर्मी कोही पोशाकसहित त कोहीचाहिँ सर्वसाधारणजस्तै देखिने गरी खटिएका हुन् । यसक्रममा कतिपयलाई राति वरपरका गाउँ र जंगलमा राखिएको थियो । वाङको सुरक्षामा समस्या आउला भनी उनी दिल्लीबाट ओर्लनुअघि शुक्रबार ४ बजे आसपास प्रहरीले कोटेश्वर बस्ने काभ्रेका ३५ वर्षीय विकास गिरीलाई नियन्त्रणमा लिएको थियो ।

उनलाई गौशाला प्रहरी बृत्तमा थुनियो । तर, उनले वाङको भ्रमणलाई कसरी चुनौती दिए भन्नेबारे केही खुलाइएन । उक्त भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि बौद्ध क्षेत्रसम्मलाई प्रहरीले उच्च चुनौती क्षेत्र तोकेर सुरक्षा व्यवस्था मिलाएको थियो । बौद्धमा स्वतन्त्र तिब्बत पक्षधर शरणार्थीहरु बढी हुनाले र विमानस्थलमा त्यही पक्षका मानिसहरुले प्रदर्शन गर्ने सम्भावनाका कारण त्यसो गरिएको हो ।

वाङ जंगल जाँदा रुट प्लान गोप्य राखिएको थियो । उनी यसअघि नेपाल आउँदा नगरकोट हाइकिङमा सहभागी थिए । यसचोटिको हाइकिङमा सशस्त्रले सुरक्षाका लागि एरिया कभर गरेको थियो । यताबाट झर्ने कि उताबाट भन्ने निश्चित थिएन । अन्तिममा उनी तीनपिप्लेबाट डाँडा चढेर टोखाबाट झरे । भनिन्छ, उनले टोखा–छहरे सुरुङमार्गको अध्ययन गरेका छन् । तीन पिप्लेको डाँडाबाट रसुवा छर्लङ्गै देखिन्छ, वाङको हाइकिङले नेपाल सुरक्षित छ भन्ने कुराको विश्वव्यापी सन्देश गएको छ ।

टिप्पणीहरू