चितवनका सातवटै स्थानीय तहमा गठबन्धनको तालमेल

चितवनका सातवटै स्थानीय तहमा गठबन्धनको तालमेल

सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सात वटै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने निर्णय भएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्ता गठन्धनको जिल्लास्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र गठन गर्ने निर्णय गरिएको छ । जसको संयोजक काँग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको हो ।गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावनाअनुरुप एकआपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्तरुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।

त्यस्तै स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट एक एक जना प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय समेत भएको छ ।

आजको बैठकमा काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू