विष्फोटक पदार्थ ल्याउन भारतको बन्देज
निजगढ–काठमाडौं दु्रतमार्गको निर्माण कार्यमा लाग्ने बिस्फोटक पदार्थ– बारुदको आपूर्तिमा समस्या देखिएपछि समयसीमाभित्रै काम सक्न अप्ठ्यारो हुने भएको छ । नेपालमा बिष्फोटक सामग्री आयात गर्ने कम्पनीलाई दूतावासले ‘नो अब्जेक्सन सर्टिफिकेट’ उपलब्ध गराउन आनाकानी गरेपछि निर्माण कार्य प्रभावित हुन लागेको हो । तत्काल सुरुङमार्ग निर्माणको लागि करिब २ हजार टन बिष्फोटकको खाँचो छ ।
सो सामान आयातका लागि नेपालस्थित कम्पनीको एजेन्टले दूतावासमा निवेदन दिएको २ महिनाभन्दा बढी समय भएको दाबी स्रोतले गरेको छ । सर्टिफिकेट प्राप्त गरेपछि मात्रै बिष्फोटक पदार्थ आयात गर्न लेटर अफ क्रेडिट (एलसी) खोल्न सकिन्छ । नीतिअनुसार सकेसम्म नेपाली सेनाद्वारा नै उत्पादित विष्फोटक पदार्थ प्रयोगमा ल्याउनुपर्ने हुन्छ । उसले सप्लाई गर्न नसक्दा मात्रै भारतलगायत देशबाट आयात गर्ने चलन हो ।
सेनाले हेटौंडाको सुनाचरीस्थित इमल्सन प्लान्ट (बारुदखाना) को उत्पादनबाट दु्रतमार्गमा बन्ने सुरुङका लागि बिष्फोटक पदार्थ आपूर्ति गर्ने कुरा थियो । तर, अहिले सो प्लान्टको सामग्रीले थानकोट–नागढुंगा सुरुङमार्गको लागि चाहिने बारुद पनि उपलब्ध गराउन सकेको छैन । जसले गर्दा जापानीज कम्पनीले अन्यत्रबाटै ल्याएर काम चलाएको अवस्था छ । यस्तो अवस्थामा भारतीय दूतावासले दु्रतमार्गलाई चाहिने बारुद आयातमा अनुमति दिन ढिलाइ गरेको हो ।
आनाकानी गर्नुपर्ने पहिलो कारण एक, द्रुत मार्ग निर्माणको ठेक्का भारतीय कम्पनीले नपाउनु रहेको दाबी स्रोतले गरेको छ । त्यसैगरी, दूतावासले रुस र युक्रेनबीच युद्धको कारण बिष्फोटक पदार्थ उत्पादन गर्ने कच्चा पदार्थ अभावलाई पनि तेस्र्याएको छ । उता यसमा प्रयोग हुने एमोनियम नाइट्रेटको मूल्यवृद्धि भएको कारणले गर्दा आपूर्ति गर्न नसक्ने अवस्था छ । अर्को एक स्रोतले भने भारतीय दूतावासले पत्र दिन ढिलाइ गर्नुको कारण द्रुतमार्ग चाँडै नबनोस् भन्ने अभिप्रायभन्दा पनि चिनियाँले एकछत्र ठेक्का पाउनुलाई मानेको छ ।
सुरुङ निर्माणको ठेक्का पाएका कम्पनीले ६ महिनाभित्र डिजाइन गरिसकेका छन् । बिष्फोटक पदार्थ ल्याएर सुरुङ निर्माण धमाधम अघि बढाउने तयारी भइरहेको बेला एकाएक आपूर्तिमा समस्या देखिएको हो । तर, नेपाल सरकारले भने यस्तो अवस्था सिर्जना भइसक्दा पनि समाधानतर्फ ध्यान दिएको देखिँदैन । भारतमा यस्ता पदार्थ उत्पादन गर्ने ६५ वटा कम्पनी छन् । जसमध्ये ५ वटाले यहाँ नेपाली एजेन्टमार्फत निर्यात गर्दै आइरहेका छन् ।
नेपाली सेनाले उत्पादन गरेको बिष्फोटक पदार्थ प्रतिकिलो १ सय ८८ रूपैयाँमा बिक्री भइरहेको छ । यही सामान भारतीय बजारमा भारु. करिब १५० रूपैयाँमा पाइन्छ । यसअघि अभावको बेला भारतबाटै बिष्फोटक पदार्थ आपूर्ति गरिँदै आएको थियो । अहिलेसम्म चीनबाट बिष्फोटक पदार्थ विरलै मात्र आयात हुने गरेको दाबी स्रोतको छ । भारतीय कम्पनी सोलार पावरका नेपाली एजेण्ट भरत पराजुली र दिनेश श्रेष्ठलगायतले बिष्फोटक पदार्थ आयात गर्दै आएका छन् ।
अहिले आपूर्तिमा समस्या देखिएपछि राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको द्रुतमार्गसँगै अन्य सडक आयोजना पनि प्रभावित हुन सक्ने आकलन गरिँदै छ ।
टिप्पणीहरू