एक्लै उठेर कसले चाहिँ बाघ मारेको छ र ?

एक्लै उठेर कसले चाहिँ बाघ मारेको छ र ?

राजनीतिक क्रान्ति पूरा भयो । अबको कार्यभार आर्थिक क्रान्ति सम्पन्न गर्दै समृद्धि हासिल गर्नु हो भनेर हिँडेको पनि यदि हामीले ०७४ साललाई आधार वर्ष मान्ने हो भने संसद्को एक कार्यकाल पूरा गर्न अब केही महिना बाँकी छ अर्थात् पाँच वर्ष पूरा हुँदै छ । सिंगो संसदीय चक्र पूरा गर्नु भनेको एउटा राजनीतिक दलको निम्ति आफूले लिन चाहेको दिशा र गति के–कस्तो हो भनेर तय गर्ने पर्याप्त समय हो ।

नेकपा (एमाले) का धेरै सदस्य मूल नेतृत्वमा रहेर बनेको नेकपा पार्टी र सोही दलकै प्रष्ट मेजोरिटीमा बनेको संसद् र सरकारलाई सैद्धान्तिक र कार्यक्रमिक दुबै हिसाबले स्पष्ट मार्गचित्र बनाउन मात्रै नभएर विकास र समृद्धिको देखिने नमुना (मोडल) नै पेश गर्न सक्ने वातावरण र ऐतिहासिक अवसर देशमा विद्यमान थियो । तर, विभिन्न कारणले यो दल आज सत्तामा छैन । फुटेर अनेकौँ टुक्रामा विभाजित भएको छ । अहिलेको नेकपा (एमाले) माकेरहित पुरानै एमाले पार्टी पनि होइन ।

एउटा ठूलो हिस्सा बाहिरिएको छ । अहिले एमालेसँग सत्ता त छैन नै, साथसाथै टुक्रिएर बचेकोमा पनि आपसी एकमना एकता छैन । पार्टी असजिलो अवस्थामा छ । एमाले अझै पनि अरु सबैभन्दा बलियो र ठूलो दल त हो देशको तर धेरैसँग जुधेर सिङ फुक्लिएको बहर गोरुको जस्तो अवस्थामा छ यो । जिउमा ताकत छ, फुर्ती पनि छ, होक्काँ जोडैले गर्न सक्छ तर जुध्न खोज्यो कि फुक्लिएको सिङ दुखिहाल्छ । जुध्न सक्ने अवस्था कमजोर छ । माके र एस त सिङ र जुरो दुबै नपलाएका बच्चा गोरुजस्ता छन् ।

देशको आर्थिक, सामाजिक उन्नति गर्ने, देशलाई समाजवादको मार्गमा हिँडाउने हतियार एमालेको हातबाट खोसिएको भन्ने कि गुमेको भन्ने, आफूसँग नरहेको अवस्था हो यो । त्यो हतियार अरुको हातमा पुगेको छ । तर तिनीहरू पनि देशको सामाजिक, आर्थिक विकास कसरी गर्ने भन्ने विषयमा भिजनविहीन छन्, कुइरोमा परेर अलमल्लमा परेको कागजस्तो अवस्थामा छन् । यी विभिन्न कुरालाई ध्यानमा राख्दै विचार विमर्श गर्ने हो र विवेकशील भएर सामथ्र्य र कर्तव्यलाई राम्रोसँग जान्ने, पालना गर्नेतिर लाग्ने हो भने यो खोसिएको/गुमेको शक्ति र सामथ्र्य दुवै पुनः हासिल हुन सक्ने अवस्था ज्युँकात्युँ छ । तर, सबैको समस्या ठ्याक्कै यहीँनिर छ ।

विवेकको प्रयोग को–कोले गर्ने ? कसैबाट पनि यसको प्रयोग हुन सक्ने सम्भावना धेरै न्यून छ । ज्यान जाएगा लेकिन घोड नहीं खाएगा । राजनीतिक, सैद्धान्तिक तथा कार्यक्रमिक हिसाबले एमाले, माके र एसका मुद्दामा कुनै मतभिन्नता देखिन्न । संविधानले नै निर्दिष्ट गरिसकेको छ हामी सबैको लक्ष्य । त्यो भनेको समाजवादमा जाने हो । राप्रपा तथा कांग्रेसलगायत अरु दलको पनि कुरा उही हो संविधानतः । शान्तिपूर्ण तरिकाले संसदीय राजनीतिमा भाग लिने, आवधिक निर्वाचनमा खडा हुने, जित हासिल गर्ने र सत्तामा पुगेर आमूल परिवर्तनकारी काम गर्ने ।

यस्तो काम गरेर जनताको मन जित्ने र फेरि पनि चुनाव जितेर जनताको हितमा काम गर्ने अर्थात् निरन्तर चुनाव जितिरहने र निरन्तर जनताको काम पनि गरिरहने । यी कुरामा यता वा त्यता र उता लागेका तीनथरी चुनावचिह्न बोकेकाहरूको बीचमा खास किसिमको गम्भीर मतभिन्नता नरहेपछि तीनतिर फर्किई तीनवटा चुलोमा आगो बालेर बस्नुको केही अर्थ छैन । तर यो कुरा बुझ्ने/बुझाइदिने कसले ? बाउको नाममा रुद्री लगाउँदा पण्डितले आफ्ना पितृको नाम लिनुस् भलो हुनेछ भनेपछि छोरोले सम्झेजति पितृको नाम मनमा लिएजस्तो खासखास् नेताको नाम लिने र तिनकै आशीर्वादमा आफ्नो भविष्य देख्ने कार्यकर्ता भएपछि नेतृत्वलाई पनि त्यस्तालाई कज्याउन सजिलो हुने नै भयो । यस्ता भक्तको दबदबा रहेपछि नेतृत्वले आफ्नो चाहनाअनुसार पार्टीलाई चलाउने, मनोमानी गर्ने छुट पाइरहने नै भयो ।

यदि, कार्यकर्ता पंक्ति, माक्र्सवादीले भनेजस्तो आलोचनात्मक र राजनीतिक हुने हो भने, गलत कामको समर्थन नगरिदिने हो भने नेतृत्वले आफ्नो निजी स्वार्थलाई त्याग्न, मनोमानी ढंगले चल्नबाट हच्किन बाध्य हुनुपर्ने थियो । तर, यो कुरा आजका दिनमा धेरै कठिन भएको छ । जताजता बाहुन बाजे, उतै–उतै स्वाहाः ।

आसन्न स्थानीय तहको चुनाव वामपन्थीहरूले नै जित्नु किन जरुरी छ भने एकातिर टुटफुट र विभाजनले कमजोर, निराश र हतोत्साहित भएको र मानसिक हिसाबले हारेजस्तो अवस्थामा पुगेको जनता र कार्यकर्तामा जितले ठूलो ऊर्जा र उत्साह भर्नेछ । माके र एस त यत्तिकै पनि निरास हुने नै भए, राष्ट्रिय पार्टीको हैसियत पनि हासिल गर्न सकस पर्न सक्छ । एमालेसमेत पनि धेरै परिणामले हारिन्छ कि भन्ने डरबाट गुज्रिएको अवस्था छ । ढुंग्र्रो देखाउने तर मोही मागेको नभन्ने तरिका अख्तियार गर्नु एमालेको बाध्यता हो ।नमिली जितिन्न भन्नेमा भित्रभित्र सबै सहमत छन् ।

हामी सबैले लेखेर र बोलेर भन्नै पर्ने कुरा यो छ कि आउने चुनावमा एमालेले गैरवामपन्थीसँग, माके र एसले पनि गैरवामपन्थीसँगै गठबन्धन गरेर चुनाव लड्ने भनेको आ–आफ्नो खुट्टामा आ–आफैँले बञ्चरो हान्नु भनेको हो, गैरवामपन्थीलाई नै सघाउनु हो, उनीहरूलाई नै बलियो बनाउनु हो र सत्ता पनि उनैलाई सुम्पिनु हो । वामपन्थीसँगको गठबन्धनबाट स्थानीय तह र संसद्मा पनि यदि गैरवामपन्थीले जिते भने उनीहरूले कुनै पनि हालतमा वामपन्थीलाई साथमा राखेर सरकार बनाउने छैनन् । यो कुरा उनीहरूको माले, मसाले र मण्डले एकै हुन् अथवा माओवादी हात्तीको कानमा गुँड लाउन आएका छन् भनेजस्ता तुच्छ टिप्पणीबाट पनि बुझ्न सकिन्छ ।

त्यसकारण वामपन्थीले र खास गरी जनताको ठूलो पंक्तिको समर्थन रहेको, देशको सबैभन्दा ठूलो वामपन्थी पार्टी भएको नाताले एमालेले नै यो विषयलाई गम्भीतापूर्वक लिएर गठबन्धनको पहलकदमी लिनुपर्छ । माके र एस पनि सिरियस नभै सुख छैन । एकाध सिट जित्न पनि महाभारतको युद्ध जित्नेजत्तिकै कठिन अवस्था छ यी दुई दललाई त । यी दुई दल एमालेबाट जति पर भाग्यो उति नै धेरै खुम्चिने हो तर एक्लै चुनाव लड्दा एमालेले पनि बाघ मार्दैन । एमाले पनि धेरै हदसम्म जाने भनेको संकुचनमै हो । हामी सबैले यो कुरा राम्रोसँग बुझौं है !

अब कसरी होला त वामपन्थी एकता अथवा वामपन्थी गठबन्धन अथवा वामपन्थीले कसरी जित्ने होला यो स्थानीय तहको चुनाव ? झट्ट हेर्दा अहो यस्तो कटुता छ, काटमारकै जस्तो अवस्था छ कसरी मिल्न सकिएला र भन्नेजस्तो देखिन्छ । तर, गहिरिएर हेर्दा उति कठिनचाहिँ छैन है ! स्थानीय तहमा वामपन्थीले नजिते विकास निर्माण र समृद्धि ल्याउने कामको नेतृत्व गर्नबाट वञ्चित भइनेछ र त्यसको असर आउने संसद्को चुनावमा पनि पर्नेछ भनेर बुझेपछि गठबन्धन बन्छ । यस्तो नगरे अब जनताले पत्याउने कुरै रहन्न । जनताको हितमा काम गर्नकै लागि चुनाव नजिती नहुने अवस्था छ वामपन्थीलाई ।

अन्त्यमा, कुचोले बढार्नुपर्ने आँगनको घुर हावाले उडाएर हाइसञ्चो बनाइदिएजस्तै दुःख गर्दा पनि नजितिने चुनाव हाम्रो मूर्खतापूर्ण झगडाले कांग्रेसलाई दुःख नगरी जित्न सकिने बनाउने काम गर्नेछ अर्थात् हामी नमिलेमा कांग्र्रेसलाई हाइसञ्चो हुनेछ । अरु त जसको हातमा अधिकार छ उसैले गर्ने हो अर्थात् आगे आप जाने !

टिप्पणीहरू