अर्थमन्त्री एमसिसी छिट्टै कार्यान्वयन गर्न आतुर

अर्थमन्त्री एमसिसी छिट्टै कार्यान्वयन गर्न आतुर

अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताउनुभएको छ । आज साँझ उहाँको नेतृत्वमा एमसिसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स,एमसिसीका नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिहरुबीच भएको भर्चुअल बैठकमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

बैठकमा अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक बर्ष बाँकी रहेको देखिएकाले अब ढिलाइ गर्न नहुने उल्लेख गर्नुभएको हो । ‘एक वर्षे कार्यान्वयन अवधि मेरालागि धेरै लामो समय भयो । हामी छिटोभन्दा छिटो काम शुरु गर्न चाहन्छौं । त्यसका लागि एमसिसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

‘एक वर्षे कार्यान्वयन अवधि मेरालागि धेरै लामो समय भयो । हामी छिटोभन्दा छिटो काम शुरु गर्न चाहन्छौं । त्यसका लागि एमसिसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु,’

संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उहाँले एमसिसी अनुमोदन प्रक्रियामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाउनुभयो । ‘एमसिसी आर्थिक परियोजना हो र यो चाँडै अगाडि बढ्छ भन्ने कुरामा आमनेपालीलाई विश्वास भइसकेको छ । त्यसैले अब एक वर्षभित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्छो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ,’ उहाँले भन्नुभयो । एमसिसी विशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भए पनि विभिन्न कारणले राजनीतिकरण भएको उहाँको भनाई थियो ।

धेरै समस्या र चुनौतीका बाबजुद एमसीसी स्वीकार गर्ने निर्णय भएको उल्लेख गर्दै उहाँले परियोजना कार्यान्वयनमार्फत नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । सो क्रममा एमसिसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए. ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन परियोजनाले सघाउ पुर्याउने बताउनुभयो । उहाँले एमसिसी अनुमोदनका लागि अर्थमन्त्रीले गरेको नेतृत्वका लागि धन्यवादसमेत दिनुभएको बताइन्छ ।

‘परियोजना अनुमोदनमा तपाईंले खेलेको नेतृत्वदायी भूमिकाका लागि विशेष धन्यवाद दिन चाहन्छु । परियोजनाबाट धेरै राम्रा र ठूला काम गरेर देखाउनुपर्नेछ,’ डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सले भन्नुभयो । उहाँले परियोजनाको कार्यान्वयन छिटोभन्दा छिटो अगाडि बढोस् भन्ने आफूहरुको पनि चाहना भएको र नेपालको तयारीअनुसार नै छिट्टै काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

‘हामी पनि परियोजनाको काम छिटोभन्दा छिटो होस् भन्ने चाहन्छौं । यसका लागि एउटा मिति तोकेर व्यवहारिक रुपमा कार्यान्वयन अगाडि बढोस् भन्ने चाहन्छौं’ उहाँले भन्नुभयो ।

टिप्पणीहरू