सशस्त्रमा फेरि गडबडीको सुरसार

सशस्त्रमा फेरि गडबडीको सुरसार

सशस्त्र प्रहरी बलका वरिष्ठ हाकिमहरु प्रायः सबै कायममुकायमकै अवस्थामा छन् । पछिल्लो पटक मंसिर १३ गतेदेखि मात्रै ११ जनालाई कामु एसएसपी बनाइएको हो । अहिले सशस्त्रमा एक जना मात्र कन्फर्म र अरु सबै एसएसपी कामुको अवस्थामा छन् ।

जताततै कायममुकायम भएपछि विनियमावलीमा रहेको बढुवा हुन योग्य चार वर्षे प्रावधानलाई तीनमा झार्न लागिएको छ । महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गतेदेखि अवकाश पाएर घर जाँदै छन् । उनी जातेजाते फेरि कायममुकायमको लहर चलेको हो । चैत १५ गतेदेखि केही एसएसपीको कायममुकायम तीन वर्ष कटिसकेको छ ।

त्यसैले नेपाल प्रहरीतिर झैँ सशस्त्रमा पनि तीन वर्ष बनाएर सबैलाई बढुवाको बाटो खुलाउन लागिएको बताइन्छ ।

एआइजी पुष्पराम केसी र रामशरण पौडेलहरु आगामी बैशाख १८ गतेदेखि घर जाँदैछन् । त्यसपछि त्यो ठाउँमा दुई जना डीआइजीलाई बढुवा गर्नुपर्ने हुन्छ । अहिलेको व्यवस्थाअनुसार अब सबै कामु रहिरहे भने एसएसपीबाट डीआइजी हुने उम्मेदवार पाउनै मुश्किल हुने अवस्था देखिन्छ ।

दरबन्दी पुरानै हुने भएकाले त्यसमा अर्थ मन्त्रालयको सहमति नचाहिने बताइन्छ । तर कानुन मन्त्रालयको सहमति भने चाहिन्छ । गृहले ख्रेस्रा बनाएर होमवर्क गर्न समितिसमेत गठन गरिसकेको छ । सशस्त्रका तर्फबाट समितिमा राजु अर्याललाई प्रतिनिधि राखिएको छ ।

अहिले त्यहाँका एसएसपीहरुमा कृष्णराज पाठकबाहेक अरु सबै कायममुकायम हुन् । जसमा सुरज श्रेष्ठ,दीपेन्द्र शाह,पुरुषोत्तम थापा, दीपक अधिकारी,अञ्जनी पोखरेल, कृष्ण ढकाल,मनिष थापा,प्रकाश थापा,विनोद राज श्रेष्ठ छन् ।

अर्को लटका एसपीहरु प्रवीण कँडेल, दिग्विजय सुवेदी,विश्व भट्टराई, भूपेन्द्र केसी,अमर तिमिल्सिना, सुधिरजंग थापा,श्रीकृष्ण अधिकारी, किरण बस्नेत र दीपेन्द्र कुँवर पनि कायममुकायम एसएसपी छन् ।

अहिले उनै कान्छा कुँवर सशस्त्रको भावी महानिरीक्षक र एआइजी कसलाई बनाउने भन्दै सबैभन्दा बढी दौडेको चर्चा छ । प्रधानमन्त्रीको पिए भानु देउवाका ज्वाइँ उनले आफ्नो बढुवाको लागि अघिल्लो वर्षको माघदेखि गत असोजसम्म सबै बढुवा प्रक्रियालाई ‘हल्ट’ गराएका थिए ।

“नेपाल प्रहरीमा झैँ एकै चोटी सिफारिश गर्ने व्यवस्था भए पो बढुवा हुने मानिसले म बढुवा हुन्छु वा हुँदिन भन्ने हुन्थ्यो ! तर सशस्त्रमा त उल्टो छ । अनि दौडधुप किन नहोस् !”

उता कायममुकायम एसएसपीलाई घर पठाएर वा नियमावली फेरेर भए पनि आफू माथि जान एकथरि एसपी मरेर लागेका छन् । तत्काल एसएसपीमा जान खोज्नेहरुमा रुपन्देहीका एसपी शंकर खनाल सबैभन्दा अगाडि छन् । उनी कामुहरुलाई रोकेर अगाडि जान विभिन्न उपायको खोजीमा रहेको बताइन्छ ।

त्यसैगरी एसपी नरेन्द्र सेन पनि राम्रै आकाँक्षी हुन् । एसपी उध्दव न्यौपानेको कोशिश पनि सोही दिशातर्फ उन्मुख देखिन्छ । उनी यसअघिका गृहसचिव महेश्वर न्यौपानेका भाइ हुन् । दौडमा राजेश उप्रेती र किरण ढुंगाना पनि रहेको स्रोतको दाबी छ ।

नियमावली दुवै प्रहरीको समान हुनेगरी बनाउन लागिएको एक जना एआइजीले बताए । उनले भने, ‘सशस्त्र प्रहरीको विनियमावलीमा दुई वटा कुरा हटाउनै पर्ने देखिएको छ । बढुवाको लागि सूचना प्रकाशित गर्ने, फर्म भर्ने,समितिले मूल्यांकन गर्ने प्रक्रिया अवलम्बन गर्दा बढुवा समिति पावरफुल भयो । नेपाल प्रहरीमा झैँ एकै चोटी सिफारिश गर्ने व्यवस्था भए पो बढुवा हुने मानिसले म बढुवा हुन्छु वा हुँदिन भन्ने हुन्थ्यो ! तर सशस्त्रमा त उल्टो छ । अनि दौडधुप किन नहोस् !’

पदकको अंक पनि सशस्त्रमा अर्को घाँडो बनेको छ । त्यहि भएकाले नेपाल प्रहरीतर्फ बढुवाको लागि पदकको अंक हटाइसकिएको छ । सशस्त्रमा भने दुई नम्बर बढाउन पदकको निम्ति मरिमेट्ने,लुछाचुँडी गर्ने र अस्वस्थ प्रतिस्पर्धा छ । उनै एआइजीले भने, ‘राम्रो काम गर्नेले यसै बढुवा पाइहाल्छ । किन मरिमेट्ने ? कार्य सम्पादनमा यसै राम्रो अंक पाइन्छ । यो पदकको व्यवस्था हटाउनुपर्छ ।’

त्यसैगरी एआइजी र डिआइजीमा एक वर्ष म्याद थप्ने चलनले संगठनभित्र अस्वस्थ प्रतिस्पर्धा बढाएकोले तत्काल हटाउनुपर्ने आवाज उठेको छ । अवकाशप्राप्त एक जना आइजीपीका अनुसार उक्त व्यवस्थाको काम नै छैन । यसबाट अति राजनीतिक चलखेल भई संस्था नै बदनाम भएको बताइन्छ ।

त्यही व्यवस्थाको कारण डिआइजी प्रवीण श्रेष्ठ म्याद नथपिएरै घर गए । तर खड्ग राई,मन्दिप श्रेष्ठको भने थपियो ।

टिप्पणीहरू