माओवादीको योगदानलाई अवमूल्यन नगरौं
टेलिभिजन प्रस्तोताको पहिलो प्रश्न थियो– दश वर्षे जनयुध्द गर्नुभो, देशले के पायो ? जवाफ रह्यो– म धेरै कुरा बताउन सक्छु तर तपाईंको सीमित समयमा यो सम्भव छैन र तपाईंले बुझ्ने भाषामा बताउन पर्दा तपाईं र म जो टेलिभिजनमा कुराकानी गरिरहेका छौं, त्यो माओवादी जनयुध्दको उपलब्धि हो । यो अन्तर्वार्तापछि निर्वाध रुपमा तपाईं र म घर फर्कन्छौं,त्यो जनयुद्धको उपलब्धि हो । त्यसमा पनि तपाईं महिला यो व्यवसायमा दमका साथ कार्यरत हुनुहुन्छ, यो जनयुध्दको उपलब्धि हो । अझ म पछि तपाईं एक दलित महिला माननीयको अन्तर्वार्ता गर्दै हुनुहुन्छ, त्यो पनि जनयुध्दको उपलब्धि हो ।
संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति,स्थानीय तहमा ४० प्रतिशतभन्दा बढीको उपस्थिति जनयुध्दको उपलब्धि हो । यी सबै उपलब्धिलाई संस्थागत गर्ने नयाँ संविधानले हो । यो नयाँ संविधान जनयुद्धको उपलब्धि हो । नयाँ संविधान जनताका प्रतिनिधिहरुको संस्था संविधानसभाको उपलब्धि हो, जो संविधान सभाका लागि हजारौंको बलिदान भएको छ ।
तपाईंलाई थाहा छ– माओवादीले संविधानसभा माग्दा राजासँग मिलेर अरु दलले आतंककारी घोषणा गरेका थिए । अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । अरु दलहरु राजासँग मिलेर जनयुध्दकारीहरुलाई आतंककारी घोषित गरिरहँदा माओवादी भने आतंककारीको बिल्ला स्वीकार गरेरै भए पनि गणतन्त्रका लागि युध्दमा थियो । त्यसैको परिणाम आज मुलुकमा राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापित भएको छ । संघीयता,धर्मनिरपेक्ष र समावेशी समानुपातिक प्रणाली माओवादी जनयुध्दका उपलब्धि हुन्,ती सबै आज प्राप्त भएका छन् ।
यति मात्रै होइन,दोस्रो दर्जाका नागरिक ठानिएका महिला आज बराबरीका हकदार भएका छन् । अछुत ठानिएका दलितहरु आज आरक्षण र विशेषाधिकारसहित राजनीतिक दल,सरकार,संसद र राज्यका हरेक निकायहरुमा प्रतिनिधित्व मात्रै होइन,नेतृत्व गरिराखेका छन् । आदिवासी जनजातिहरुको जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित भएको छ । मधिशे भनेर हेपिएका दाजुभाइ दिदी–बहिनीहरु आज ‘गर्व से कहो हम मधेशी छि’ भन्ने अवस्थामा पुगेका छन् ।
उपरोक्त विवरणले के देखाउँछ भने नेपाली समाजको आधार बदलिएको छ । राजनीतिक व्यवस्था बदलिएको छ,अब जनताको अवस्था बदल्न जरुरी भएको छ । जनताको अवस्था बदल्ने कुरा पनि माओवादी जनयुद्धकै अभियान थियो । विस्तृत शान्ति सम्झौतामा आर्थिक, सामाजिक रुपान्तरणका लागि संघीय संरचना भनिएको कुरा बिर्सन चाहेर पनि सकिँदैन । नेपाली समाजको रुपान्तरण आर्थिक, सामाजिक रुपान्तरण बिना सम्भव छैन भन्ने विश्वास माओवादी जनयुद्धको हो र सो विश्वासमा सहमति उक्त शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन सातदलीय गठबन्धन सरकारको हो । त्यही विश्वासको जगमा नेपाली राजनीतिले काँचुली फेर्दैछ ।
राजनीतिक व्यवस्था बदल्यौं, जनताको अवस्था बदल्न बाँकी छ । त्यसका लागि पनि माओवादीकै खाँचो छ भन्ने कुरा पटक–पटकका परिवर्तनका उपलब्धि उल्टाउने हर्कत भएबाट बुझ्न सकिन्छ । संविधान सभा चुनावको मिति तोक्न कति गाह्रो भयो भोग्नेहरुलाई थाहा छ । अन्तरिम संविधानमा मिति लेखेर पनि सो मितिमा चुनाव गराउन प्रतिगामीहरुले दिएनन् भन्ने कुरा अब भन्न गाह्रो छैन । चुनावको परिणाम स्वीकार्न कति गाह्रो भयो एक पटक स्मरण मात्रै गर्दा पुग्छ । पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने अन्तरिम संविधानमा लेखिएको थियो त्यसैकारणले पहिलो बैठक बस्न कति कठिन भयो ? पहिलो संविधानसभाबाट संविधान लेख्न किन दिइएन ? राष्ट्रपतिको लोभ नदेखाएको भए गणतन्त्र र प्रधानमन्त्रीको लोभ नदेखाएको भए संविधान जारी गर्न असम्भव प्रायः नै थियो । जारी संविधानबमोजिम चुनाव नगराउने षड्यन्त्र गर्ने खड्गप्रसाद ओलीको हर्कतलाई परास्त गर्ने काम पनि माओवादीले नै गर्यो ।
गणतन्त्र,संघीयता, समावेशी समानुपातिक र धर्मनिरपेक्ष आन्दोलनका उपलब्धिहरुलाई उल्टाउने हर्कतस्वरुप छ महिनाको अन्तरालमा दुई पटक संसद विघटन भएको थियो र त्यसकाविरुद्ध माओवादी जमेर नलागेको भए अहिलेको चुनाव मात्रै होइन कहिल्यै चुनाव नगर्नेतिर देशलाई धकेलिएको थियो । त्यसैले राजनीतिक उपलब्धि हासिल गर्ने मात्रै होइन, प्राप्त उपलब्धि जोगाउने दायित्व र जिम्मेवारी पनि माओवादीको काँधमा नै छ । त्यसैले गणतन्त्र, संघीयता,धर्मनिरपेक्ष र समावेशी, समानुपातिक प्रणाली जोगाउने र त्यसैको जगमा टेकेर थप संघर्षका माध्यमबाटै आर्थिक,सामाजिक रुपान्तरण गर्ने अभियानको नेतृत्व गर्ने अभिभारा माओवादीकै जिम्मा इतिहासले सुम्पेको छ । माओवादी शक्ति कमजोर हुँदा जनताका हक अधिकार खोसिएका र माओवादी बलियो हुँदा जनताका हक अधिकार थपिएका विगतका उदाहरण ताजै छन् । तिनै विगतका ताजा उदाहरणलाई स्मरण गर्दै फेरि पनि एकपटक माओवादीलाई मजबुत बनाउन आ–आफ्नो क्षेत्रमा डटौं ।
माओवादी कमजोर हुने भनेको जनताको अधिकार कमजोर हुने हो । माओवादी शक्ति खस्कने भनेको प्राप्त उपलब्धि पनि खस्कने हो । यो कुरा परिवर्तनविरोधी र प्रतिगामीहरुले राम्ररी बुझेका छन् । त्यही कुरा जनताले बुझ्नासाथ उनीहरुको षड्यन्त्र चकनाचुर हुनेछ । देश र जनताको उन्नति माओवादीको शक्तिमा टिकेको छ । देश र जनताको उन्नति माओवादी शक्तिको मजबुतीकरणमा निर्भर छ । त्यसैले देश र जनताको उन्नतिका लागि माओवादीलाई जिताउन लागौं । यसैमा देश र जनताको हित अन्तरनिहीत छ ।
-खिमलाल देवकोटा
टिप्पणीहरू