वकिलहरुको चुनावमा सत्तारुढ गठबन्धन ‘क्लिनस्विप’को बाटोतिर

वकिलहरुको चुनावमा सत्तारुढ गठबन्धन ‘क्लिनस्विप’को बाटोतिर

स्थानीय तह निर्वाचनमा देशभर तालमेल गरेर जाने निर्णयमा पुगेको सत्तारुढ गठबन्धनले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनमा प्यानलै जित्ने संकेत देखिएको छ । गठबन्धनमा भोट क्रस हुनसक्ने अनुमानलाई गलत सावित गर्दै अध्यक्ष,महासचिवसहित सबै पदमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।

बारको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक परिणाम सार्वजनिक हुँदै गर्दा गठबन्धन निकट वकिलहरुको संयुक्त प्यानल अगाडि छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्षका प्रत्यासी काँग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) का गोपालकृष्ण घिमिरेले ९३२ मतसहित अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमाले सम्बद्ध प्रोग्रेसिभ प्रोफेसनल लयर्स एशोसिएसन (पिपिएलए) का उम्मेदवार विष्णुमणि अधिकारीले ४६३ मत पाएका छन् ।

महासचिवमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । माओवादी केन्द्र निकट आरपीएलएबाट महासचिवको उम्मेदवार बनेकी अञ्जिता खनालले ८३६ मत पाउँदा पिपिएलएका केदारप्रसाद कोइरालाले ५५० मत ल्याएका छन् ।

त्यसैगरी सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सबै गठबन्धनका उम्मेदवार अगाडि छन् ।

बारको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते काठमाडौंसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै स्थानको मतपेटिका सोमबार काठमाडौं केन्द्रमा ल्याएर हिजो बिहानदेखि गणना शुरु भएको हो । ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ वकिलहरु मतदान प्रक्रियामा सहभागी भएका थिए ।

टिप्पणीहरू