वामपन्थी दलहरुलाई सेटब्याक शुरु
नेपाल इञ्जिनियरिङ एशोसिएशनको हालै सम्पन्न चुनावमा सबैभन्दा ठूलो सेटब्याक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाएको छ । यसअघिको केन्द्रीय समितिमा बहुमत सदस्य एमालेका थिए । त्यसैगरी बागमती र गण्डकी प्रदेशका पदाधिकारीसहित सबै सिट, कर्णाली र सुदूरपश्चिममा एमाले समर्थित इञ्जिनियरहरुले जितेका थिए । एमालेले मधेश प्रदेशमा सभापति पद पाएको थियो ।
एक नम्बर प्रदेश र लुम्बिनीमा मात्र एमाले समर्थितहरु पराजित भएका थिए । तर अहिलेको चुनावमा केन्द्रदेखि प्रदेशसम्म कतै पनि एमालेलगायतका कम्युनिष्ट समर्थक इञ्जिनियरहरुले जित्न सकेनन् । यो निर्वाचनमा एमाले,माओवादी केन्द्र र एकीकृत समाजवादी पक्षधर कुनै पनि इञ्जिनियरले जित्न नसकेका हुन् । यसपालि इञ्जिनियरहरुको चुनावमा नेपाली काँग्रेस,एमाले समर्थित इञ्जिनियरहरु एक्लाएक्लै, माओवादी केन्द्र र एकीकृत समाजवादी समर्थितको एउटा प्यानल गरी तीन वटा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा थियो । तर अन्तिम बाजी भने काँग्रेस समर्थित इञ्जिनियरले मारेका छन् । आउँदो स्थानीय तह निर्वाचनमा पनि यस्तै नतिजा आउने सम्भावनाको चर्चा छ ।
शत्रुको घेरा सानो बनाउँदै नेपाली काँग्रेस
नीतिभन्दा नेता ठूलो र सामूहिक नेतृत्वको बदलामा एकल नेतृत्व हावी भएपछि कम्युनिष्ट पार्टीमा आएको विभाजनले बारम्बार धक्का खाएको छ । तर पनि वामपन्थी दलहरुको चेत नफर्केको दाबी वामपन्थी पृष्ठभूमिका इञ्जिनियर नन्द बञ्जाडेले गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वर्षौंदेखि हितैषी रहेका इञ्जिनियर नन्द बञ्जाडेले जीवनमै पहिलोपल्ट कम्युनिष्ट पार्टीको सदस्यता नवीकरण गरेका छैनन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको विभाजनपछि निराश भएका उनले एमाले र एकीकृत समाजवादी कुनैलाई पनि रुचाएनन् ।
अहिले उनी सक्रिय राजनीतिबाट विश्राम लिएर निस्क्रिय बनेका छन् । नेपाल इञ्जिनियरिङ एशोसिएशनमा एमालेका तर्फबाट बागमती प्रदेशको सभापति भएका बञ्जाडे जस्ता धेरै पेशागत बुध्दिजीवीहरु कम्युनिष्ट पार्टीमा आएको विभाजनको कारण निराश भएका हुन् । बञ्जाडेलाई एमाले समर्थित इञ्जिनियरहरुको नेतृत्व गर्दै महासचिव र एकीकृत समाजवादी समर्थित इञ्जिनियरहरुले अध्यक्ष पदको अफर पनि दिएको बताइन्छ । तर उनले कतै जान चाहेनन् । भन्छन्, ‘स्थानीय तहको निर्वाचनमा कम्युनिष्टहरुले धुलो चाट्छन् । एउटा पनि महानगर वा उपमहानगरपालिका जित्ने छैनन् । त्यसपछि दिमागको बत्ती बल्नेछ ।’
“चुनावमा हार्नेबित्तिक्कै एकताका पक्षपातीहरु सबै दलमा हावी हुन्छन् र नयाँ ‘सिनारियो’ विकसित हुने उनको धारणा छ ।”
बरु भूमिगतकालमा माओवादी र एमालेलगायत सबै मिलेर चुनाव लड्थे । तर अहिले भने दम्भ प्रदर्शन गर्दै एक्लाएक्लै लडेका छन् । त्यसैले कम्युनिष्टहरुले धुलो चाट्छन् । काँग्रेसले स्थानीय तहको निर्वाचनलाई आफ्नो पक्षमा पार्छन् । बञ्जाडेले बताए, ‘बुध्दि पुगेर अझै पनि एक भई चुनाव लडे जनताले पत्यार गर्न सक्छन् । काँग्रेसलाई पराजित गर्न सक्छन् । तर एक्लाएक्लै लड्दा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सबै कम्युनिष्टले धुलो चाट्ने छन् । बञ्जाडेले भनेको भनेर लेखी राख्नुस् ।’
नेपाली काँग्रेसले गठवन्धनको नाममा आफूले जित्ने ठाउँमा एक्लै दावा ठोक्छ,नजित्ने ठाउँमा गठबन्धनको सहारा लिएर एमालेलाई पछार्ने रणनीति लिएको प्रष्ट देखिन्छ । त्यसैले पार्टी एउटै बनाउन नसके पनि वामपन्थीहरु मोर्चा बनाएर चुनावमा मिलेर जानुको विकल्प नभएको दाबी इञ्जिनियर नेता बञ्जाडेको छ । बन्जाडेले ‘शत्रुको घेरा सानो गराऊ’भन्ने माओत्सेतुङको नीति अपनाएर वामपन्थीहरुलाई सिध्याउने दाउमा रहेको बताए । उनको विश्लेषण छ, ‘स्थानीय तहको चुनाव हारेपछि ओलीको पुनः प्रधानमन्त्री हुने सपनाले हावा खान्छ,त्यसपछि उनी पुनः एकताको कुरा गर्न थाल्ने छन् ।’
उनी भन्छन्, ‘वामपन्थी दलहरुभित्र एकखालको विद्रोह हुन्छ र त्यसले एकीकरणको ढोका खोल्न मूलधारका वामपन्थी दललाई बाध्य बनाउँछ ।’ चुनावमा हार्नेबित्तिक्कै एकताका पक्षपातीहरु सबै दलमा हावी हुन्छन् र नयाँ ‘सिनारियो’ विकसित हुने उनको धारणा छ । यसो हुन आवश्यक रहेको धारणामा बञ्जाडे अडिग देखिन्छन् ।
टिप्पणीहरू