महिलाको शासन आयो, आयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा महिला जनप्रतिधिनिहरुको संख्या बढाउनुपर्ने बताउनुभएको छ । आज गृहजिल्ला चितवन पुगेर उहाँले महिलाहरु कामप्रति इमान्दार हुने भएकाले उनीहरुलाई नै जिम्मेवारी दिनुपर्ने बताउनुभएको हो ।
सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न भरतपुरमा आयोजित कार्यक्रममा उहाँले धेरै वर्ष पहिलेबाट पुरुषहरुले शासन गर्दै आएकाले केही वर्ष महिलाहरुलाई मौका दिनुपर्नेमा जोड दिनुभयो । भन्नुभयो, ‘धेरै वर्ष पहिलेबाट पुरुषले शासन गर्दै आइरहेका छन् । अब केही वर्ष महिलालाई शासन गर्न दिनुपर्छ ।’
अध्यक्ष प्रचण्डले वैशाख ३० गते हुने निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख महिलालाई बनाउने आफ्नो विचार रहेको पनि सुनाउनुभयो । उहाँले राजनीतिक दलहरुलाई चुनावमा महिलालाई अवसर दिन पनि आग्रह गर्नुभयो ।
‘पुरुषको तुलनामा महिलाको जिम्मेवारी बेग्लै खालको हुन्छ । त्यसैले आगामी स्थानीय तह निर्वाचनमा महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र उपप्रमुख बनाउने मेरो विचार छ, यसमा सबै राजनीतिक दलले पनि जोड दिनुपर्छ’, उहाँले भन्नुभयो ।
भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै महिला छन् । विभिन्न सर्वेक्षण र सूचकाङ्कले देशभरका अन्य महानगरको तुलनामा भरतपुरमा राम्रो काम भएको देखाएको छ ।
टिप्पणीहरू