नेपाल बार मतगणना अपडेट : सत्ता गठबन्धनको प्यानलै अगाडि

नेपाल बार मतगणना अपडेट : सत्ता गठबन्धनको प्यानलै अगाडि

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा पदाधिकारीसहित सबै पदमा सत्ता गठबन्धन निकटका उम्मेदवारले अग्रता बढाएका छन् । हिजो बिहानदेखि शुरु भएको मतगणनाको प्रारम्भिक परिणाममै अग्रता बनाएका गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लागेका छन् ।

प्राप्त पछिल्लो परिणामअनुसार अध्यक्षका प्रत्यासी काँग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का गोपालकृष्ण घिमिरेले एक हजार ७५ मतसहित अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमालेसम्बद्ध प्रोग्रेसिभ प्रोफेसनल लयर्स एशोसिएसन (पिपिएलए) का उम्मेदवार विष्णुमणि अधिकारीले ५५३ मत पाएका छन् ।

महासचिवमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । माओवादी केन्द्र निकट आरपीएलएबाट महासचिवको उम्मेदवार बनेकी अञ्जिता खनालले ९६० मत पाउँदा पिपिएलएका केदारप्रसाद कोइरालाले ६५७ मत ल्याएका छन् ।

त्यसैगरी सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा पनि सबै गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रदेश १ बाट उपाध्यक्षको उम्मेदवार बनेका डिएलएका सुरज खत्रीले एक हजार ८४ मत ल्याउँदा पिपिएलएका रोहितकुमार डाँगीले ५८२ मत पाएका छन् । मधेस प्रदेशका डिएलए उम्मेदवार सुधीरकुमार कर्णले एक हजार ९७ मत पाएर अग्रता हासिल गर्दा पिपिएलएका केशवप्रसाद दासले ५५० मत पाएका छन् ।

यता, वाग्मतीमा एकीकृत समाजवादी निकट एसपिएलका उम्मेदवार हर्कबहादुर राउतले एक हजार ८८ मतसहित अग्रता बनाउँदा पिपिएलएका डिल्लीराम मैनालीले ५३९ भोट पाएका छन् । गण्डकीमा डिएलएका वीरेन्द्र केसीले एक हजार ५९ मत ल्याएका छन् भने पिपिएलका भुपेन्द्र खनालले ५८७ पाएका छन् ।

लुम्बिनीमा आरपिएलका पशुपति भण्डारी एक हजार ३०, कर्णालीमा डिएलएका उत्तमप्रसाद आचार्यले एक हजार ६३ र सुदूरपश्चिमबाट आरपिएलएका तुलाराम गिरीले एक हजार ८३ मतसहित अग्रता जारी राखेका छन् । त्यहाँ पिपिएलएका उम्मेदवार क्रमशः बासुदेव ज्ञवालीले ६१४, विष्णुप्रसाद तिमिल्सिनाले ५६८ र चंखबहादुर साउदले ५४२ मत पाएका छन् ।

कोषाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । डिएलएका तर्फबाट कोषाध्यक्षको उम्मेदवार रहेका भारतबहादुर राउतले एक हजार ४० मत पाउँदा पिपिएलएका जगतबहादुर कार्कीले ५९२ भोट ल्याएका छन् । त्यस्तै, महिला उपाध्यक्षमा गठबन्धनकी आशा राई एक हजार १२ मत ल्याएर अग्रता बनाउँदा पिपिएलएका रमा श्रेष्ठले ५४५ मत पाएकी छन् । समावेशी र खुला सदस्यमा पनि गठबन्धनकै उम्मेदवारले फराकिलो अन्तरले अग्रता बनाइरहेका छन् ।

बारको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते काठमाडौंसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै स्थानको मतपेटिका सोमबार काठमाडौं केन्द्रमा ल्याएर हिजो बिहानदेखि गणना शुरु भएको हो । हालसम्म सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिराहा, जुम्ला, उदयपुर, बारा, सुर्खेत, बर्दिया, सुनसरी र पाल्पा मतदान केन्द्रको मतगणना भइसकेको छ । त्यस्तै, ललितपुर एक सय ५० र सर्वोच्च अदालत केन्द्रको तीन सय मत गनिएको छ ।

११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात हजार आठ वकिलहरु मतदान प्रक्रियामा सहभागी भएका थिए । भोलिसम्म अन्तिम परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।

टिप्पणीहरू