एमाले छाडेका स्थानीय नेता एकीकृत समाजवादीतिर

एमाले छाडेका स्थानीय नेता एकीकृत समाजवादीतिर

लामो समय नेकपा एमालेमा सक्रिय भएर जनप्रतिनिधिसमेत रहिसकेका हेटौंडा उपमहानगरपालिका १ का उत्तम शर्मा न्यौपाने आजदेखि एकीकृत समाजवादीमा आबद्ध भएका छन् ।

न्यौपानेलाई एकीकृत समाजवादी पार्टीको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज केदार न्यौपानेले स्वागत गर्नुभएको छ ।

केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादीमा आबद्ध भएको उनले बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनलाई जुन रुपमा हाँक्नुपर्ने आवश्यकता छ,एमालेबाट त्यो हुनै सक्दैन ।’ न्यौपानेले भने, ‘एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले म कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्ध भएको हुँ ।’

२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका १,को अध्यक्षमा उम्मेदवार रहेका न्यौपाने तत्कालीन् एमालेभित्रकै अन्तर्घातका कारण पराजित हुनु परेको थियो । न्यौपाने २०४९ र २०५४ मा हेटौंडा १ को वडाध्यक्ष थिए । उनी २०४३ मा आधुनिक राष्ट्रिय मावि, हेटौंडामा अनेरास्ववियुमा संलग्न भई राजनीतिक यात्रामा लागेका हुन् ।

न्यौपानेले मकवानपुर बहुमुखी क्याम्पसमा २०४४/०४५ मा प्रारम्भिक कमिटीमा आबद्ध, २०४६ मा नेकपा माले हेटौंडा नगरको सक्रिय सदस्य, २०४७ मा नेकपा माले हेटौंडा नगर कमिटीको सचिव, २०५२ मा युवासंघको जिल्ला सचिव, २०५४ मा पिपुल्स भोलेन्टियर्सको नारायणी अञ्चल संयोजक, २०५५ मा प्ररायु संघको मकवानपुर जिल्ला अध्यक्ष भई जिम्मेवारी पूरा गरेका थिए ।

पछिल्लो समय एमाले मकवानपुरमा जिल्ला सदस्य रहेका उनलाई पार्टी प्रवेश गराउने कार्यक्रममा पोलिटब्युरो सदस्य ललित बस्नेत, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल,पार्टी बागमती प्रदेश कमिटीका सदस्य यादव गजुरेल, पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव भुजेललगायतको सहभागिता थियो ।

टिप्पणीहरू