बार मतगणना अपडेट: अग्रता दोब्बर बनाउँदै गठबन्धनका उम्मेदवार

बार मतगणना अपडेट: अग्रता दोब्बर बनाउँदै गठबन्धनका उम्मेदवार

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । आज साँझसम्मको मतपरिणामअनुसार अध्यक्षसहित सबै पदमा गठबन्धन निकटका उम्मेदवारहरुले अग्रता बढाउँदै लगेका छन् । शुरुवातदेखि नै अग्रता बनाएका गठबन्धनका उम्मेदवारले पछिल्लो परिणाम आउँदा मतान्तर थप फराकिलो बनाएका हुन् ।

ताजा परिणामअनुसार अध्यक्षका प्रत्यासी काँग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का गोपालकृष्ण घिमिरेले निकटतम प्रतिस्पर्धी एमालेसम्बद्ध प्रोग्रेसिभ प्रोफेसनल लयर्स एशोसिएसन (पिपिएलए) का उम्मेदवार विष्णुमणि अधिकारीको भन्दा झण्डै दोब्बर मत पाएका छन् । घिमिरेले एक हजार ९९० मत प्राप्त गर्दा अधिकारीले एक हजार चार भोट ल्याएका छन् ।

महासचिवमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । माओवादी केन्द्र निकट आरपीएलएबाट महासचिवको उम्मेदवार बनेकी अञ्जिता खनालले एक हजार ७६५ मत पाउँदा पिपिएलएका केदारप्रसाद कोइरालाले एक हजार १७५ मत ल्याएका छन् ।

त्यसैगरी सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा पनि सबै गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रदेश १ बाट उपाध्यक्षको उम्मेदवार बनेका डिएलएका सुरज खत्रीले एक हजार ९९८ मत ल्याउँदा पिपिएलएका रोहितकुमार डाँगीले एक हजार ५९ मत पाएका छन् । मधेस प्रदेशका डिएलए उम्मेदवार सुधीरकुमार कर्णले एक हजार ९९१ मत पाएर अग्रता हासिल गर्दा पिपिएलएका केशवप्रसाद दासले एक हजार ५५ मत पाएका छन् ।

यता,बाग्मतीमा एकीकृत समाजवादी निकट एसपिएलका उम्मेदवार हर्कबहादुर राउतले दुई हजार एक मतसहित अग्रता बनाउँदा पिपिएलएका डिल्लीराम मैनालीले ९९२ भोट पाएका छन् । गण्डकीमा डिएलएका वीरेन्द्र केसीले एक हजार ९५५ मत ल्याएका छन् भने पिपिएलका भुपेन्द्र खनालले एक हजार ८३ मत पाएका छन् ।

लुम्बिनीमा आरपिएलका पशुपति भण्डारी एक हजार ९०६, कर्णालीमा डिएलएका उत्तमप्रसाद आचार्यले एक हजार ९८० र सुदूरपश्चिमबाट आरपिएलएका तुलाराम गिरीले एक हजार ९९२ मतसहित अग्रता जारी राखेका छन् । त्यहाँ पिपिएलएका उम्मेदवारहरु क्रमशः बासुदेव ज्ञवालीले एक हजार १०६, विष्णुप्रसाद तिमिल्सिनाले एक हजार ३३ र चंखबहादुर साउदले ९९३ मत पाएका छन् ।

कोषाध्यक्षमा पनि गठबन्धनले सुरुआतदेखि नै अग्रता लिइरहेको छ । डिएलएका तर्फबाट कोषाध्यक्षको उम्मेदवार रहेका भारतबहादुर राउतले एक हजार ९२८ मत पाउँदा पिपिएलएका जगतबहादुर कार्कीले एक हजार ६६ भोट ल्याएका छन् । त्यस्तै,महिला उपाध्यक्षमा गठबन्धनकी आशा राईले एक हजार ८२३ मत ल्याएर अग्रता बनाउँदा पिपिएलएका रमा श्रेष्ठले एक हजार २६ मत पाएकी छन् । समावेशी र खुला सदस्यमा पनि गठबन्धनकै उम्मेदवारले फराकिलो अन्तरले अग्रता बनाइरहेका छन् ।

बारको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते काठमाडौंसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै स्थानको मतपेटिका सोमबार काठमाडौं केन्द्रमा ल्याएर हिजो बिहानदेखि गणना शुरु भएको हो । ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात हजार आठ वकिलहरु मतदान प्रक्रियामा सहभागी भएका थिए । भोलिसम्म अन्तिम परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।

टिप्पणीहरू