हिजो क–कसले हेलिकप्टर चढे, क–कसले हवाइजहाज ?
हिजो पनि धेरै जना भीआइपीको आवतजावत भएको छ । कसैले हेलिकप्टर सयर गरेका छन् भने कसैले विमानको नियमित उडान समातेका छन् । हिजै अमेरिकाबाट निकालिएका आठ जना नेपालीलाई काठमाडौं ल्याएर छाडिएको छ ।
अमेरिकामा अवैध तरिकाले बस्दै आएका उनीहरुलाई अमेरिकी चार्टर विमानको उडान नम्बर जीआरपी ७४ बाट ल्याइएको हो । उनीहरुलाई बिहान सवा ११ बजे विमानबाट ओरालिएको थियो ।
हिजै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी सिंगापुर हुँदै काठमाडौं आउनुभएको छ । उहाँ सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४० बाट दिउँसो १ बजे आइपुग्नुभएको हो ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा हिजो राति पौने १० बजे बुध्द एअरको उडानमा धनगढीबाट काठमाडौं आउनुभएको हो । काँग्रेस नेता शेखर कोइराला हिजो बिहान यति एयरलाइन्सको उडानबाट बिहान ९ बजे बिराटनगर जानुभएको छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हिजो बिहान ११ बजे बुध्द एअरको उडानमा जनकपुर जानुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही एअरको उडानमा बिहान पोखराबाट काठमाडौं आएको विमानस्थल स्रोतले पुष्टि गरेको छ । उहाँहरु दिउँसो यति एयरलाइन्सको उडानमा काठमाडौंबाट दिउँसो सवा १ बजे बिराटनगर जानुभएको हो ।
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुध्द एयरको उडानमा हिजो बिहान साढे ११ बजे भद्रपुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बुध्द एयरकै उडानबाट बिहान पौने १२ बजे भरतपुर जानुभएको थियो । दाहालसँगै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ पनि त्यतै जानुभएको बताइन्छ । अध्यक्ष दाहाल र मन्त्री श्रेष्ठ साँझ ६ बजे भरतपुरबाट बुध्द एअरबाट काठमाडौं फर्कनुभयो ।
नेपालका लागि बंगलादेशका राजदूत सलाहुध्दिन नोमन चौधरी बुध्द एयरको उडानमा भैरहवाबाट दिउँसो सवा १ बजे काठमाडौं आउनुभएको छ ।
हिजो कैलाश हेलिकप्टर चढेर सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित पाँच जनाको टोली दिउँसो साढे २ बजे सिन्धुपाल्चोकको न्यासिङ्ग खोला गएको छ । उक्त टोली दिउँसो ४ बजे राजधानी फर्केको बताइन्छ ।
उता मनाङ्ग एअरको हेलिकप्टरमा राखेर बिरामी परेका लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिउँसो पौने ३ बजे भैरहवाबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ ।
हिजै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैन्य टोलीको बन्दोबस्तीको सामान लिन आएको चार्टर विमान आरएसबी ७६२६ भारतको नागपुरतर्फ प्रस्थान गरेको छ । दिउँसो साढे २ बजे उडेको उक्त विमान दक्षिणी सुडानको आबेइमा तैनाथ मिसनमा संलग्न हुने सेनाको सपोर्ट युनिट पहिलो डफ्फाको बन्दोबस्तीको सामान झण्डै २१ हजार केजी लिएर उडेको हो ।
हिजै माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा दिउँसो साढे ४ बजे हवाइजहाजबाट भैरहवा जानुभएको छ भने बुद्ध एयर चढेरं पूर्वमन्त्री प्रभु साह साँझ साढे ६ बजे सिमराबाट काठमाडौं आउनुभएको छ ।
टिप्पणीहरू