महिला इन्स्पेक्टर हराएपछि खोज्न थाल्यो गृहले
सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत एक इन्स्पेक्टर बिना सूचना लामो समयदेखि कार्यालय नआएपछि गृहमन्त्रालयले सार्वजनिक सूचना निकालेर स्पष्टीकरण मागेको छ ।
नेपाल एपिएफ अस्पताल बलम्बुमा कार्यरत इन्स्पेक्टर डा. आस्था श्रेष्ठ बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको र हाल सम्पर्कमा नआएको भन्दै गृहले सार्वजनिक सूचना निकालेको हो ।
गृहको ‘प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठको नाउँमा सफाई पेश गर्ने सूचना’ मा उनी १२ फागुनदेखि कार्यालयमा उपस्थित नभएको र त्यसयता सम्पर्कमा पनि नरहेको भनिएको छ । बिना जानकारी लामो समय कार्यालयमा अनुपस्थित हुनु पदीय आचरणविपरितको काम भएकाले सशस्त्र प्रहरी नियमावलीअनुसार विभागीय कारवाही हुने सूचनामा उल्लेख छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ नियम ११३, उपनियम (१) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन’ सकिने व्यवस्था छ ।
आफूउपर विभागीय कारवाही गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्यादबाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कारणसहित सफाई पेश गर्न गृहले इन्स्पेक्टर श्रेष्ठलाई मौका दिएको छ ।
टिप्पणीहरू