लुम्बिनीमा चार दलबीच तालमेल,नेकपा एस बाहिरै
पाँचदलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेको सत्ता साझेदार पाँच दल लुम्बिनीमा भने चार दलमा सिमित भएको छ। लुम्बिनीमा एकीकृत समाजवादीबाहेक नेपाली काँग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल हुने भएको हो ।
हिजो माओवादी केन्द्र संसदीय दलको कार्यालयमा चार दलका प्रदेशस्तरीय नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकपछि संयुक्त रूपमा जारी विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छ ।
बैठकले तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने निर्णयसमेत गरेको छ । यस्तै, नियमित बैठक बस्ने, मत विश्लेषणसहितको रिपोर्ट पेश गर्ने र स्थानीय पालिका र जिल्लाले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने बैठकको निर्णय छ ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बद्र आलमले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा गठबन्धनको अर्को मुख्य घटक तथा शुरुदेखि नै चुनावी तालमेलको पक्षमा उभिएको एकीकृत समाजवादीको तर्फबाट हस्ताक्षर छैन ।

टिप्पणीहरू