लमजुङमा को–को मिल्दा आउने हो लहर

लमजुङमा को–को मिल्दा आउने हो लहर

०७४ मा लमजुङका चार नगर र चार गाउँपालिकामध्ये कांग्रेसबाट मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाबाहेक अन्यमा एमाले–माओवादी गठबन्धन विजयी बनेको थियो ।

मध्यनेपाल नगपालिकामा तत्कालीन एमाओवादीका मोहनहरी पौडेल प्रमुखमा पराजित भए पनि उपप्रमुखमा चाहिँ एमालेका राजकुमार श्रेष्ठ विजयी बने । सुन्दरबजार नगरपालिकामा एमालेका जनक मिश्र विजयी बन्दै गर्दा माओवादीकी शान्ता भुजेलले हार व्यहोरिन् ।

त्यस्तै, राइनास नगरपालिका प्रमुखमा सिंहबहादुर थापा विजयी भए तर उपप्रमुखका उम्मेदवार पुष्पा खनालसहित सबै वडामा एमाले अध्यक्ष भारी मतले पछाडि परे ।

दूधपोखरीमा प्रमुखको दावा गरेकी माओवादी नेत्री मधुमाया अधिकारीले आफ्नै पार्टीकी सतिमाया तामाङलाई प्रमुख बन्नबाट रोकेको आरोप लाग्यो । मस्र्याङ्दी र दोर्दीमा भने एमाले बलियो भएकै कारण गठबन्धनका प्रमुख, उपप्रमुख दुवैले विजयी भए ।

केन्द्रमा माओवादी, कांग्रेसलगायत दलले तालमेल गर्ने भने पनि लमजुङमा भित्रभित्रै माओवादी, एमालेको तालमेल हुने खतरा छ । तालमेल भएमा दोर्दी, दूधपोखरीमा माओवादीलाई प्रमुखमा छोड्ने र अन्य ६ पालिकामा उपप्रमुख दिने संकेत देखिएको छ ।

लमजुङमा एकीकृत समाजवादीको प्रभुत्व खासै नदेखिए पनि एमालेको घमण्डलाई तोड्न सक्ने मत बलियो भएको अध्यक्ष रामबाबु अधिकारीको दाबी छ । ‘हामी चुनाव जित्न सक्दैनौँ तर एमालेलाई कसरी पछार्नुपर्छ जानेका छौँ’, उनले भने ।

बेसीशहर नगरपालिकामा गुमानसिंह अर्याल नै दोहोरिने संकेत छ । यदि, उनले टिकट पाए कांग्रेस, माओवादी, समाजवादी गठबन्धन नै भए पनि अर्याललाई हराउन सकस छ ।

यसो त अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपमेयर लक्ष्मी अधिकारी पनि मेयरको आकांक्षी नभएका हैनन् । सुन्दरबजार नगरपालिकामा एमालेले जनक मिश्रलाई नदोहो¥याउने हो भने बलियो उम्मेदवार पाउन सकस छ ।

तर, नगर अध्यक्ष भीम गुरुङले मेयरको दाबी नछाड्ने भएका छन् । सुन्दरबजारमा कांग्रेस बलियो छ । अझ अन्यत्रभन्दा माओवादी र समाजवादीको बाहुल्य पनि उस्तै मजबुत छ । जसकारण एमालेलाई भारी पर्ने देखिन्छ ।

मध्यनेपाल नगरपालिका माओवादीको आधार क्षेत्र हो । अहिले माओवादीका मोहनहरि पौडेल, वडाध्यक्ष विष्णु पौडेल, कृष्ण लामिछानेलगायत केही नेता एमालेमा बसे पनि त्यहाँ एमालेलाई चुनाव जित्न सजिलो छैन ।

हिजो स्वयं माओवादी र एमालेको तालमेल हुँदा त हारेको पालिका अहिले कांग्रेस, माओवादीलगायतको गठबन्धन बन्दा जित्छाैँ भन्ने कल्पनासमेत कोरा हुन्छ भन्छन् कांग्रेस नेता रमेश पाण्डे ।

एमाले एक्लैले मस्र्याङ्दी र क्व्होलासोथार गाउँपालिका जित्न सक्छ । दोर्दीमा युवराज अधिकारीलाई एमालेले टिकट दियो भने त्यो पनि जित्न सक्छ नत्र यसपटक एमालेले जितेका तीनवटै नगरपालिका र तीनवटै गाउँपालिका गुम्न सक्ने देखिन्छ ।

– अञ्जनकुमार

टिप्पणीहरू