हुण्डी रोक्ने श्रममन्त्रीको नयाँ सूत्र
अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना हुनुपर्ने बताउनु भएको छ । रेमिटेन्सको आम्दानी बढाउन मन्त्रीले आज दर्जनौं उपाय सुझाउनु भएको हो ।
मन्त्रीले विदेशबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने, विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने,विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने,औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेश गरेमा नेपाल आउँदा ल्याउन पाइने सामान, टिभी, गरगहना आदिमा सहुलियत दिनुपर्नेमा जोड दिनुभएको हो ।
त्यस्तै, औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेश गरेमा पुन श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने, वार्षिक रुपमा सबैभन्दा धेरै विप्रेषण पठाउनेमध्येलाई राष्ट्रिय सम्मान गर्नुपर्ने, औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरुमा ५० प्रतिशत सहुलियत दिने, नेपाल फर्केर उद्यम गर्नेहरुलाई विदेशमा हुँदा पठाएको रकम बराबरको कर्जा निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने, वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने, सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने र वैदेशिक रोजगारीमा जान विद्यमान प्रक्रियालाई सहज र सरल बनाउन सरकार लागि पर्नुपर्ने श्रेष्ठको सुझाव छ ।
टिप्पणीहरू