पशुपति धर्मशालामा ताला लगाउने सरकारको दोस्रो प्रयास असफल

पशुपति धर्मशालामा ताला लगाउने सरकारको दोस्रो प्रयास असफल

पशुपति क्षेत्रमा विवादित बतास समूहले सञ्चालन गरेको धर्मशालामा तालाबन्दी गर्ने पशुपति क्षेत्र विकास कोषको दोस्रो प्रयास असफल भएको छ । तालाबन्दी गर्न गएका कोषका पदाधिकारी बतास समूहले आज धर्मशालाको गेट नखोलेपछि त्यसै फर्किए ।

गत बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, त्यतिबेला पनि तालाबन्दी गर्न सकिएको थिएन । आज पनि कोष पदाधिकारी धर्मशाला पुगे । तर, धर्मशालाको गेट नखुलेपछि उनीहरु त्यसै फर्किए ।

आनन्द बतास समूहका प्रबन्ध निर्देशक जेपी पोखरेलले तालाबन्दी गर्न आएकाले गेट नखोलेको बताए । काेषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोल्न नमानेका हुन् । यो विषय अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट हुने फैसला आफूहरूलाई मान्य हुने बताउँदै ती कर्मचारीले गेट नखोल्ने जिकिर गरे ।

जनप्रतिनिधिको रोहवरमा तालाबन्दी गर्ने कोषको प्रयास पनि असफल भएको छ । धर्मशालाको विषय अदालतमा विचाराधीन रहेको भन्दै तालाबन्दी गर्ने विषयमा काठमाडौं महानगर वडा ८ का अध्यक्ष दिनेश डंगोलले हस्ताक्षर गर्न मानेनन् ।

टिप्पणीहरू