नियुक्ती लिएकै दिन गभर्नर अधिकारी निलम्बित

नियुक्ती लिएकै दिन गभर्नर अधिकारी निलम्बित

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । आज अबेर सरकारले अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकामयको पत्र बुझाएको हो ।

गभर्नर अधिकारी दुई वर्षअघि २०७६ चैत २५ गते गभर्नर नियुक्त भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले पाँच वर्षका लागि नियुक्त गरेपनि उनी ठ्याक्कै दुई वर्षमा निलम्बनमा परेका छन् ।

नयाँ सरकार बनेदेखि नै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्ध चिसिँदै गएका गभर्नर अधिकारीको आज दिउँसो होटल र्‍याडिसनमा भएको कार्यक्रममा दोहोरी चलेको थियो । दुई दिनअघि प्रधानमन्त्री देउवाले अधिकारी र अर्थमन्त्री शर्मासँग बालुवाटारमा झण्डै दुई घण्टा ब्रिफिङ लिनुभएको थियो ।

मुलुकको अर्थतन्त्र डाँवाडोल हुनुमा गभर्नरले सरकार र अर्थमन्त्रालयलाई र अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई अप्रत्यक्ष रुपमा दोष लगाउँदै आएका थिए । आज दिउँसो उक्त दोषारोपण छताछुल्ल भएको हो ।

यता, डेपुटी गभर्नर बनेको १३ महिनामा निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ । डेपुटी गभर्नरकै पद थामिनसक्नु भएका डेपुटीहरुलाई गभर्नरको पगरी गुथाईंदिँदा उनीहरुसमेत राम्रोसँग पाइला चाल्न नसक्ने अवस्थामा पुगेका छन् ।

सरकारले सम्भवतः नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त दुई जना ‘श्रेष्ठ’ थरका पूर्व कार्यकारी निर्देशकहरुमध्ये एकलाई गभर्नर नियुक्त गर्नसक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

टिप्पणीहरू