सित्तैं रारा घुमेको भावी राजदूत दम्पत्तिले बल्ल ७० हजार तिर्यो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी र अस्ट्रेलियाको निम्ति भर्खरै राजदूतमा नियुक्त कैलाश पोखरेल दम्पत्तिले नेपाल वायुसेवा निगमलाई दुई हप्तापछि गत आइतबार बल्ल ६९ हजार नौ सय २० रुपैयाँ तिरेको छ । चैत १७ गते जनआस्था डट कममा ‘माधव नेपालको नाम बेचेर बहिनी,ज्वाईंको मोज’ शीर्षकको समाचार प्रकाशित भएपछि गत आइतबार निगमको मुख्य कार्यालय,न्यूरोड गेट पुगेर बसुधा पोखरेलले ७० वटा एक हजारको नोट बुझाएकी हुन् ।
निगमको कमर्सियल विभागका कर्मचारीले उनलाई ८० रुपैयाँ फिर्ता गरेका थिए । टर्कीबाट अघिल्लो दिन मात्र फर्कनुभएका दाजुले यस्तो गल्ती किन गर्यौ भनी सोधखोज शुरु गरेपछि आइतबार बिहानै हुर्हुराउँदै अस्तिको प्लेन भाडा तिर्नुपर्यो भनेर बसुधा कमर्सियल विभागमा सम्पर्क पुगेर विभागको डोमेस्टिक युनिटमा सम्पर्क गरेकी थिइन् । युनिटकाे तर्फबाट इ–पेमेण्ट गर्न सुझाए पनि बसुधाले हुनुसम्म बदनामी भैसक्यो,यही निहुँमा राजदूत नियुक्ति रोकिने डर भो भन्दै आफूलाई रिसिप्टसमेत चाहिएकाले निगममा आएर तिर्ने भनी दिउँसो त्यहाँ पुगेकी हुन् ।
आइतबार दिउँसो पैसा तिरेको रिसिप्ट,१७ दिनअघि विमान चढेको टिकटसहित राति लामो विवरण लेखेर बसुधाले फेसबुक पेजमा जनआस्थाले भ्रमपूर्ण समाचार छापेको टिप्पणी गरेकी छन् । उनले आफू र श्रीमानले विमान चढेको १७ दिनपछि रकम बुझाएर लिएको कागजमा केही खोट अझै देखिएको छ । ‘ढाँटेको कुरो काटे पनि मिल्दैन’ भन्ने नेपाली उखान हुनेवाला राजदूत पोखरेलले लेखेर बसुधाको नाममा पोस्ट भएको पछिल्लो स्टाटसले पनि पुष्टि गरेको छ ।
उनीहरुले चैत ४ गते काठमाडौंबाट रुकुम हुँदै नेपालगञ्ज गएको विमान टिकट इलेक्ट्रोनिक भर्सनको देखाएका छन् । तर नेपालगञ्जबाट मुगु जाँदाको टिकट पुरानो धेरै वटा पृष्ठ भएको रंगीन छ । काठमाडौंबाट यात्राको लामो तयारीसहित उडेकाहरुले दुई थरि टिकट किन लिए ? नेपाल एअरलाइन्सले ट्राभल एजेन्सीवाहेक अरु ब्यक्तिलाई उधारोमा उडाउँछ कि उडाउँदैन ? काठमाडौंमा टिकटवापतको उक्त एकमुष्ठ रकम रुकुम हुँदै नेपालगञ्ज गएकै दिन या अगाडि किन बुझाइएन ? चैत ४ गतेको दिन बिहान सबेरैको उडान भएकाले कार्यालय खुलेको हुँदैन । अघिल्लो दिन फागु पूर्णिमाको सार्वजनिक बिदा छ । चैत २ गते टिकट किनिएको हो भने किन १७ गते समाचार प्रकाशित भएपछि त्यो पनि दाजुले यस्तो गल्ती किन गर्यौ भनेपछि मात्र चैत २० गते हतारमा तिरियो ?
अर्कोतर्फ पहिले तिरेको भए टिकट किन दुई किसिमको लिइयो ? ताल्चा विमानस्थलबाट उडेको टिकटमा कसरी नेपालगञ्ज कार्यालयको छाप लाग्यो ?
बसुधाले कुनै लोभलालचमा नफसेका र इमानको राजनीति गर्ने दाइ र कैलाशले जेठान माधवकुमार नेपालको नाम बदनाम गर्दै लिएका पछिल्ला सुविधा र फाइदाको विस्तृत विवरण जनआस्थाले चैत १७ गते ‘माधव नेपालको नाम बेचेर बहिनी, ज्वाईंको मोज’ शीर्षकमा प्रकाशित गरेको छ । उनीहरुले नेपाल वायुसेवा निगम र तालुक अड्डा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दबाब दिएर निगमको पूर्वी पहाडी भेगमा चार्टर र नियमित उडानको सेड्युलमा रहेको विमानलाई सित्तैंमा रारा पुर्याएर ल्याउन लगाएका थिए ।
जनआस्थाको समाचारबाट अप्ठेरो पर्ने देखिएपछि पोखरेल दम्पत्तिले गत आइतबार निगमको मुख्यालयमा पुगेर उक्त रकम तिरेको हो । तर,निगमले पूर्वको विमानलाई पश्चिम लैजाँदा व्यहोर्नुपरेको क्षति झण्डै १० लाख रुपैयाँ बराबर रहेको बताइन्छ ।
‘डुबेको ७० हजार भए पनि जनआस्थाले उठाइदियो,त्यो हाम्रो लागि ठूलो उपलब्धि हो ।
आगामी दिनमा यस्तो प्रवृत्तिमा कमि आउने विश्वास गर्न सकिन्छ । जनआस्थाले लेखेको समाचारमा सतप्रतिशत सत्यता छ,’ निगमका एक जना विभागीय प्रमुखले भने ।
(अरु विवरण क्रमशः)
टिप्पणीहरू