एमाले अध्यक्ष हेलिकप्टरमा,अरु सबै हवाइजहाजमा
हिजो एमाले अध्यक्ष केपी शर्मा ओली आफूनिकट रामेश्वर थापाद्वारा सन्चालित सिम्रिक एअरको हेलिकप्टर चढेर पर्वतको सदरमुकाम कुश्मा पुग्नुभएको छ । उहाँ पाँच जनाको टोली लिएर पौने १ बजेतिर काठमाडौंबाट उड्नुभएको हो ।
एमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारी भने बुद्ध एयरको उडानबाट हिजो बिहान साढे ७ बजे काठमाडौंबाट पोखरा जानुभएको छ । त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि हिजो यति एयरलाइन्सको उडानबाट पौने ८ बजे पोखरा जानुभएको थियो । तिमिल्सिना चढेको विमानमा पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पनि हुनुहुन्थ्यो ।
हिजो एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत श्री एयरको उडानबाट साँझ काठमाडौं फर्कनुभएको छ । श्री एअरकै उडानमा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ हिजो बिहान पौने ९ बजे काठमाडौंबाट बिराटनगर जानुभएको छ । बुद्ध एअरलाइन्सको उडानमा बिहान सवा ९ बजे पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव काठमाडौंबाट भैरहवा जानुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना नेपाल एअरलाइन्सको उडानमा हिजो बिहान १० बजे दुबईबाट काठमाडौं ओर्लनुभएको छ ।
प्रधानमन्त्री पत्नी आरजु राणा श्री एयरलाइन्सको उडानमा बिहान साढे ११ बजे धनगढीबाट काठमाडौं आउनुभयो भने हिजै बुद्ध एअरलाइन्सको उडानमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मध्यान्ह साढे १२ बजे भद्रपुर जानुभएको थियो ।
बुद्ध एयरलाइन्सको उडानमा दिउँसो साढे १२ बजे काठमाडौंबाट खानेपानी मन्त्री उमाकान्त चौधरी भरतपुर जाँदा नेपाल एयरलाइन्सको उडानमा उच्च अदालत बुटवलकी न्यायाधीश रेणुका शाह दिउँसो सवा १ बजे नयाँ दिल्लीतर्फ लाग्नुभयो ।
त्यसैगरी बुद्ध एयरलाइन्सको उडानमा खेलकुद मन्त्री महेश्वरजंग गहतराज दिउँसो ४ बजे भरतपुरबाट काठमाडौं आउनुभएको छ । भरतपुरबाटै दिउँसो पौने ५ बजे बुद्ध एअरलाइन्सको उडानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी आउनुभएको छ ।
टिप्पणीहरू