अदालतले बाटो खोलेपछि सुर्खेतका उद्योगीहरु चुनावमा होमिए
उद्योग वाणिज्य संघ सुर्खेतको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्न अदालतले बाटो खोलिदिएको छ । उच्च अदालत सुर्खेतले निर्वाचनको मिति सार्न माग गर्दै परेको रिट खारेज गरिदिएपछि निर्वाचन निश्चित भएको हो ।
अदालतको आदेशसँगै निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार आज मतदाता नामावली सूचीमा नाम समावेश र त्यसउपर दावी विरोध गर्ने कार्यतालिका छ । आजै अन्तिम मतदाता नामावली प्रकाशन हुने जनाइएको छ ।
भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता र साँझ सूची प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । पर्सि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारीउपर दाबी विरोध र फिर्ता, सोही दिन अपरान्ह ५ बजे दाबी विरोधउपर निर्णय र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । वैशाख २ गते राति १२ बजेसम्म चुनावी प्रचारप्रसार गर्न पाइनेछ भने त्यसपछि मौन अवधि शुरु हुनेछ ।
बैशाख ४ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
यसअघि संघका पदाधिकारीहरुले विधानअनुरुप काम नगरेको भन्दै निर्धारित मितिको निर्वाचन रोक माग गर्दै उच्च अदालतमा रिट परेको थियो । अदालतले उक्त रिट खारेज गरिदिएको हो ।
टिप्पणीहरू