लोकतन्त्रको रक्षाका नाममा मिलेर जाने प्रण
स्थानीय निर्वाचनको दिन नजिकिँदै जाँदा दलहरु आफ्ना उम्मेदवार छनौटको प्रारम्भिक गृहकार्यमा व्यस्त छन् । सत्तारुढ पाँचदलीय गठबन्धनले आपसी सहकार्य र सहयोगका लागि तल्ला कमिटीहरुलाई निर्देशन दिँदै आज संयुक्त अपिल जारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा तालमेलको स्वरुपबारे छलफल गर्दै यस्तो अपिल जारी गरिएको हो । जारी अपीलमा आपसी सहयोगको प्रण गरिएको छ । तालमेलका विषयमा स्थानीयस्तरमा देखिएका केही असहजतालाई सम्बोधन गर्दै गठबन्धनले यस्तो प्रणसहितको निर्देशन जारी गरेको हो ।
साथै गठबन्धनले अहिलेपनि संविधानविरोधी र लोकतन्त्र विरोधीहरु सलबलाइरहेको भन्दै प्रतिगामी शक्तिलाई परास्त गर्न झन एकतावद्ध हुनुको विकल्प नभएको स्पष्ट पारेको छ ।
अपिलमा भनिएको छ, ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छ र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं ।’
अपिलमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका तर्फबाट सम्मानित नेता झलनाथ खनाल,जनता समाजवादीका तर्फबाट वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
अपिलमा देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका नेता/कार्यकर्तालाई आह्वान गरिएको छ । परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको बताउँदै आगामी चुनावमा सँगै रहने प्रतिवद्धता दोहोर्याइएको छ ।
‘पाँच दलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता,नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौं’, अपिलमा भनिएको छ।
त्यसैगरी व्यापक जनसहभागितासहित निर्वाचन सफल पार्न र गठबन्धनका उम्मेदवारलाई अमूल्य मत दिएर विजयी गराउन आम जनतालाई पनि अपिल गरिएको छ ।
टिप्पणीहरू