सुरुङ खनेपछि मूल सुक्यो भन्दै स्थानीयद्वारा गाडी र घर तोडफोड

थानकोटबाट धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग खनेपछि स्थानीय खानेपानीको मूल सुकेको भन्दै नागढुंगा नजिकैका बासिन्दा आन्दोलनमा उत्रेका छन् । चन्द्रागिरी नगरपालिका २ वसन्तटोलमा खानेपानीको मुहान सुकेकाले अर्को व्यवस्थाको माग गर्दै उनीहरुले सुरुङमार्गको सम्पर्क कार्यालयमा आक्रमण गरेका हुन् ।

उनीहरुले खानेपानीको मुहान सुकेकाले वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दा कुनै सुनुवाई नभएको बताएका छन् । लामो समयदेखि आफ्ना माग सम्बोधन नभएपछि आज कृष्ण सुवेदीको नेतृत्वमा झण्डै ९० जना स्थानीयले कार्यालय हातामा राखिएको बा. १८ च ४१२ नम्बरको जीप तोडफोड गरेका छन् ।

साथै प्रदर्शनकारीले कार्यालयको ब्लक नम्बर १ भवनको ६ सेट झ्याल र एउटा ढोका, ब्लक नम्बर २ को ४ सेट झ्याल, मेडिकल हलको दुई वटा झ्याल र एउटा ढोका तोडफोड गरेका छन् । स्थानीयले कार्यालयमा आक्रमण गरेको सूचनालगत्तै उक्त स्थानमा अहिले झण्डै तीन दर्जन प्रहरीको टोली पुगेको छ ।

टिप्पणीहरू