प्रहरीको त्यो बर्बरता र पत्रकारको निरिहता

प्रहरीको त्यो बर्बरता र पत्रकारको निरिहता

-नमस्कार शाह

कुरा आजकै दिन अर्थात् २०५९ चैत्र २८ गतेको हो । म आफ्नो काम सकेर नेपालगञ्जको गार्डियनपुरस्थित कार्यालयबाट गोसाईगाउँस्थित निवासतर्फ फर्किदै थिएँ । त्यतिखेर पेट्रोलियम पदार्थकोे मूल्यबृध्दिको बिरोधमा आठ विद्यार्थी सँगठन चरणबध्द आन्दोलनमा थिए । त्यो दिन देशैभर ब्ल्याक आउटको कार्यक्रम थियो । सोहीअनुसार नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज शाखामा ब्ल्याक आउट गर्न (बत्ति निभाउन) आन्दोलनकारी विद्यार्थीहरु जम्मा भएका थिए ।

विद्यार्थीहरु प्राधिकरण कार्यालयको गेटभित्र प्रवेश गर्न खोज्दै थिए भने प्रहरीहरु रोक लगाइरहेका थिए । त्यहिक्रममा त्यहाँ नाराबाजीसमेत हुँदै थियो । आन्दोलनको रिर्पाेर्टिङ्ग गरी म निवासतर्फ फर्किर्दै गर्दा प्रहरी र आन्दोलनकारी विद्यार्थीबीच झडप भयो । म झडप भएको ठाउँभन्दा करिब एक किलोमिटर टाढा पुगिसकेको थिएँ ।

एक्कासी तीन जना प्रहरी जाई लागे । आफू पत्रकार भएको परिचय दिँदा पनि मलाई निर्घात कुटपिट गरे । उनीहरुले एकोहोरो बन्दुकको कुन्दा र बुट बर्साएपछि म सडकमै बेहोस भएछु । उता त्यहि दिन पत्रकार जनक नेपाललाई प्रहरीले समाचार संकलन गर्ने क्रममैं कुटेको रहेछ भने बजारमा हिँडिरहेका पत्रकार बेदप्रकाश तिमिल्सिनालाई अनाहक नियन्त्रण लिएको रहेछ ।

प्रहरीको कुटाईबाट बेहोस भएर लछार्दै ट्रकमा हालिसकेपछि मात्र म होसमा आएछु,होसमा आउँदा त्यहाँ दुई दर्जन बढि विद्यार्थीहरुसँगै मलाई पनि नियन्त्रणमा लिएको थाहा पाएँ । संकटकालको बेला थियो,प्रहरीले जे गरेपनि हुने अवस्था थियो त्यतिखेर । हामीलाई गाईबाख्रा कोचेजसरी ट्रकमा कोचेर खुट्टामाथि तीन/चार वटा साइकिल राखिदिए । साइकिल हटाउन प्रहरीलाई भन्ने हिम्मत कसलाई त्यतिबेला ?

‘गोद् सालेहरुलाई ! त्यहिँ उभिएका प्रहरीमध्ये कसैले भन्न नपाउँदै दुई/तीन जना प्रहरी हामी सबैलाई गोरु चुटेझैं बन्दुकका कुन्दा र बुटले चुट्न थाले । तर, त्यहिँ रहेका अर्काे प्रहरीले गाडीभित्र नकुट्न भनेपछि लामो कुटाई खानबाट हामी बच्यौं । सशस्त्र प्रहरीको समशेरगञ्जस्थित गणमा हामीलाई लग्ने भनिएपनि त्यहाँ नलगी त्यतिखेरको वडा प्रहरी कार्यालय फुल्टेक्रामा लगियो ।

जहाँ पुग्नेबित्तिकै बढि घाइते भएकाहरुलाई छुट्टै बोलाइयो र भनियो —रगत लागेका कपडा धुने,घाउ पनि धुने । कसले यसो भन्यो,ठम्याउन नसके पनि भनेको नमान्नुको अर्काे विकल्प थिएन । र, हामीले त्यसै गर्यौँ । अनि हामी सबैलाई हिरासतमा राखियो । सबैभन्दा बढि घाइते म रहेछु । बन्दुकको कुन्दा र बुटले निर्घात कुटिएको थिएँ,शरिरभरी चोट थियो, अनुहारमा अलि बढि चोट थियो, रगत बगिरहेको थियो र दुई वटा दाँत भाँचिएका थिए । त्यतिबेला करिब साढे ९ बजिसकेको थियो ।

मलगायत बढि घाइते भएका दुई/तीन जनालाई प्रहरीले बाहिर बोलाएर अस्पताल लैजाने बताई गाडी चढ्न भन्यो । मैले आफू पत्रकार भएको र आन्दोलनसँग असँलग्न व्यक्ति हुँ भनेर छाडिदिनु आग्रह गर्दै परिचय पत्र देखाएँ । उनीहरुले ‘यो देशमा सबै पत्रकार छन्,छाड्न मिल्दैन’ भने ।

‘त्यसोभए मेरो घरमा खबर गरिदिनुहोस्’,भनें । ‘धेरै हल्ला गर्ने होइन,खुरुक्क गाडी चढ !’, पछाडिबाट कसैको आवाज आयो । गाडीमा चढेपछि हामीलाई अस्पताल नलगी औद्योगिक क्षेत्रअगाडि चोरी भएको स्थानमा लगियो । त्यहाँ केहीबेर राखेपछि बल्ल अस्पताल लगियो । समान्य चेकजाँच गराएपछि पुनः वडाको हिरासतमा लगियो । हिरासतमा मसँगै विद्यार्थी नेताहरु रत्न खत्री,प्रशान्त बिष्ट,सतिश निरौला,द्रब्य शाह,केशव कोइरालालगायत थिए ।

मलाई प्रहरीले अन्धाधुन्द आक्रमण गरी हिरासतमा राखेको जानकारी माथिल्लो निकायमा पुगेपछि बिना शर्त छुट्छु होला भन्ने आशा थियो । किनकि मलाई त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज जोशी, प्रहरी उपरीक्षकले राम्रैसँग चिन्दथे । तर,अहँ ! छुट्ने कुनै संकेत देखिएन, अबेर भइसक्दा पनि ।

रात छिप्पिदै गयो,चोट बल्झिन थाले, भोक पनि लाग्न थाल्यो तर के गर्ने ?, करिब ११ बजे प्रहरीले कहाँबाट बासी समोसा र छोला ल्याएर दियो । विद्यार्थी साथीहरुले राम्रैसँग खाए,मैलेचाहिँ कसरी खानु ! मुखैभरिको चोट र भाँचिएका दाँतले । भोक आफैँ हराएर गयो । त्यहिबेला जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यरत प्रशासकीय अधिकृत हरि प्याकुरेलको फोन आएछ । उनले मलाई छाडिदिन गरेको आग्रह प्रहरीले मानेनछ ।

तारन्तार मलाई छुटाउन ठाउँ—ठाउँबाट फोन आउन थालेपछि प्रहरीले ममाथि झन निगरानी बढाएर धेरै केरकार गर्न थाल्यो । भोलिपल्ट बिहानै मलाई भेट्न दाइ र साथीहरु आउनु भएको रहेछ, तर प्रहरीले भेट्न दिएन । दिशा,पिशाब गर्न जाँदा पनि प्रहरीले हैरान पार्थ्यो,सँगै प्रहरी पठाउँथ्यो पछि,पछि ।

केही समयपछि नेपाल पत्रकार महासँघ, बाँकेका अध्यक्ष निरज गौतम मलाई भेट्न आउनुभयो । सामान्य सोधपुछ गर्दै उहाँले ‘नआत्तिनु,तिमीलाई हामी छुटाउँछौं’ भनेपछि केही आशा जाग्यो । उहाँ फर्किनुभयो,प्रहरीले छोड्ने कुनै सुरसार गरेन,म आत्तिएँ । पटक-पटक हामीलाई बिभिन्न बहानामा प्रहरीले टर्चर दिइरहेको थियो ।

प्रहरी हिरासतमैं बसेको पनि करिब १४ घण्टा बित्न थालिसकेको थियो । त्यहिबेला पत्रकारहरु जनक नेपाल र कृष्ण अधिकारीहरु भित्र आउँदै गरेको देखें,थप आशा जाग्यो । केही समयपछि एक जना प्रहरीले लिएर गयो । त्यहाँ एउटा कागजमा हस्ताक्षर गर्न भनियो,मैले हस्ताक्षर गरें । पत्रकार नेपाल र अधिकारीको रोहवरमा मलाई हिरासतमा लिएको १५ घण्टापछि प्रहरीले चेतावनीको भाषा बोल्दै छाड्यो ।

अहिले पनि त्यो क्षण याद छ, म प्रहरी हिरासतबाट घर फर्किदा मेरो खुट्टामा चप्पल थिएन । चप्पल बिनै म जनक नेपाल दाइको बाइकमा चढेर निवासतर्फ गएको थिएँ । मेरो घाइते अनुहार हेरेर घर परिवार दुःखी नहोस् भनी केही भएको छैन भन्दै हाँस्दै गएँ । मलाई भेट्न धेरै आफन्त र साथीहरु घरमा जम्मा हुनुभएको थियो । केही समयको बिश्रामपछि उपचार गर्न अस्पताल लगियो ।

करिब एक महिना बेड रेष्टमा रहें । सो क्रममा सयौं शुभचिन्तकहरु भेट्न आउनुभयो । उता नेपाल पत्रकार महासँघ लगायत बिभिन्न सँघ, सँस्थाहरुले ममाथि भएको प्रहरी दमनको बिरोध गर्दै दोषीलाई कार्बाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आवाज उठाएका थिए । तर कहिँ, कतैबाट पनि सुनुवाई भएन ।

म स्वयं र परिवारले पनि सोही माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँके, राष्ट्रिय मानव अधिकार आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गरायौं, तर कसैले टेरपुच्छर लगाएन । पत्रकारिता गर्ने र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा बिभिन्न सुरक्षा अधिकारीहरुका बारेमा समाचार सम्प्रेषण गर्ने बाहेक म कुटिनु पर्ने कुनै कारण थिएन । तर म अनाहक कुटिएँ, किन कुटिएँ, कसको निर्देशनमा कसले कुट्यो, यी सबै बिषय अझै गर्भमैं छन् ।

घटना घटेको १९ बर्ष पूगिसक्यो । मेरो उजुरीका बारेमा पटक—पटक मानव अधिकार आयोगले मसहित सरोकारवालाहरुसँग बयान लियो । घटनामा प्रहरीको गल्ति देखाउँदै दोषीलाई कारवाही गर्न र मलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेकै पनि १० वर्ष बितिसक्यो ।

तर, अहँ न त दोषीलाई कार्बाही भयो न त क्षतिपूर्ति नैं पाईयो । बरु प्रहरीको बौलठ्ठिपनाका कारण लागेका चोटहरु बेला—बेलामा बल्झिन्छन् र बल्झाउँछ त्यो प्रहरीको बर्बरता र अचाक्लि । दाह्रा किटेर ति दोषीहरुलाई गाली गर्न बाहेक अरु के नैं गर्न सकिन्छ र कानुनी राज नभएको सतिले सरापेको देशमा ?

टिप्पणीहरू