सिद्धार्थनगरमा मेयरको दौड !
निर्धारित समयमा निर्वाचन भएमा आजको ठीक २८ दिनपछि जनताले स्थानीय तहमा नयाँ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु चयन गर्नेछन् । सिद्धार्थनगर नगरपालिकामा मात्रै होइन, यो अभ्यास देशैभरका पालिकामा हुनेछ । त्यसको लागि अबको नौ दिनपछि अर्थात आगामी वैशाख ११ गते उम्मेदवारी दर्तापछि कुन पार्टीबाट को मेयरको उम्मेदवार बन्यो ? भन्ने टुंगोसमेत लाग्ने छ ।
रुपन्देहीको सदरमुकाम रहेको भैरहवामा यतिबेला धेरैले मेयरको उम्मेदवार भन्दै सामाजिक सञ्जाल र कतिपयले स्थानीय मिडियामा विज्ञापन समेत गरिरहेका छन् । तर मुख्य राजनीतिक दलहरुले आफ्नो आधिकारिक उम्मेदवार अझै टुंगो लगाएका छैनन् । पार्टी संगठनमा नगरस्तरीय र जिल्लास्तरीय छलफल तथा सिफारिसले विभिन्न आकांक्षीहरुलाई मेयरको उम्मेदवारको रुपमा अर्थाएको भएता पनि दलहरुबीच चुनावी तालमेल हुँदाको अवस्थामा ती सबै उम्मेदवारको प्रचार केवल हल्लामा मात्रै सीमित हुने देखिएको छ ।
सामान्य अवस्थामा सबै दल छुट्टै र स्वतन्त्रपूर्वक निर्वाचनमा सहभागी हुने अवस्था आएमा सिद्धार्थनगर नगरपालिकामा सबैभन्दा बलियो नेपालपी काँग्रेस रहने निश्चित छ । काँग्रेसपछि एमाले, त्यसपछि माओवादी, त्यसपछि राप्रपा र त्यसपछि मात्र जनता समाजवादी पार्टिको अवस्था देखिएको छ ।
संस्थागत हिसाबले सिद्धार्थनगरमा काँग्रेस नै बलियो रहेको बताइन्छ । विगतमा काँग्रेस नेता स्व.रामकृष्ण ताम्राकारको पकड क्षेत्र मानिने भैरहवामा यतिबेला गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो प्रभाव फैलाउँदै जाँदा उनले नयाँ अनुहारलाई अगाडि सार्ने सम्भावना देखिएको छ । ताम्रकारको निधनसँगै उनको पक्षको लबी यतिबेला अत्यन्तै रक्षात्मक अवस्थामा पुगेको छ । यही कारण भैरहवाका पुराना र त्यागी काँग्रेस नेताहरुले मेयर, उपमेयर मात्रै होइन वडाध्यक्षको समेत टिकट पाउने अवस्था क्षीण हुँदै गएको छ ।
गृहमन्त्री खाँणका भाई रामकृष्ण खाँण पार्टीको जिल्ला सभापति भएको वर्तमान अवस्थामा काँग्रेसले भैरहवा क्षेत्रमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको गतिविधिबाट पनि देख्न सकिन्छ । सिद्धार्थनगरमा गृहमन्त्री खाँण, पार्टि सभापति खाँण र सोहि टिमका पूर्व सभापति अब्दुल रज्जाक समेतले रुचाएको मान्छेले मात्रै यसपटक काँग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको मेयर, उपमेयर र वडाध्यक्षको टिकट पाउने निश्चित छ ।
टिकट पाउने लोभमा ताम्राकार लबिकै महेन्द्रकुमार श्रेष्ठ, सुशील गुरुङहरु यतिबेला खाँणको टिममा खुलेर लागेका छन् । कुनैबेला नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाका किचेन मेम्बरको रुपमा परिचित ताम्राकारको निधनसँगै यतिेबला भैरहवा क्षेत्रमा काँग्रेसको (शेखर कोइरला तथा गगन थापा) को टिम कमजोर भएको हो ।
काँग्रेसबाट मेयरमा धेरै जनाले आकांक्षा राखेका छन् । तथापि राप्रपाबाट समानुपातिक सभासद पड्काउन सफल जग्गा व्यापारी ईस्तीयाक अहमद खानले नेता फकाउन बढी प्रयास गरेको बुझिएको छ । उनी केही महिना पहिले काँग्रेस प्रवेश गरेका हुन् । यतिबेला नेतृत्वलाई करोडौं खर्चेर भए पनि टिकट हात पार्ने प्रयासमा उनै खान रहेको सबैले अड्कल लगाएका छन् ।
खानले विगतमा राप्रपाका नेतालाई पनि रकमकै प्रभावमा पारेर समानुपातिक सभासद प्राप्त गरेको चर्चा अहिलेसम्म व्याप्त छ । त्यतिबेला उनले पैसाको बलमा सभासद पद प्राप्त गरेपछि तत्कालीन अवस्थामा राप्रपा नेता ताहिर अलिले पार्टीबाट राजिनामा नै दिएका थिए । यतिबेला भने काँग्रेसमा लागेका खानले फेरि मेयर बन्ने सपना देखेका छन् ।
काँग्रेसमा मेयरको दौडमा रहेकामध्ये अर्का व्यवसायी महेन्द्र कुमार श्रेष्ठ हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले पनि काँग्रेसको हाई कमाण्डसँग छलफल गरिरहेको उनी निकटस्थहरुको दाबी छ । कुनैबेला काँग्रेस नेता स्वर्गीय रामकृष्ण ताम्राकारको दाहिने हातको रुपमा परिचित श्रेष्ठ यतिबेला मेयर बन्ने आकांक्षाका साथ टिम परिवर्तन गरी खाण लाइनमा पुगेका हुन् ।
यसैगरी मेयरको दौडमा रहेकामध्ये अर्का हुन् सुशील गुरुङ । युवा नेता गुरुङ राजनैतिक हिसाबले खान र श्रेष्ठभन्दा धेरै अब्बल र नगरमा लोकप्रिय पनि छन् । तर उनले नेताहरुलाई रिझाउन त्यति धेरै मेहनत नगरेको हुँदा टिकट पाउने सम्भावना कम देखिएको छ ।
यसैगरी काँग्रेसका पुराना नेता विजय शर्मा, दीपक क्षेत्री न्यौपाने, मातृका यादव र सुरेन्द्रजंग थापाहरु पनि मेयरको उम्मेदवारको दौडमा छन् । शर्मा, न्यौपाने, यादव र थापालाई काँग्रेसका पुराना र अनुभवले खारिदएका नेता मानिन्छ् । शर्मा धेरै वर्ष अमेरिका बसेर आएको हुँदा यतिबेला केही काँग्रेसीले उनी फेरि विदेशिने हौवा पिटेका छन् । यसैगरी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लाइनमा विगतदेखि नै चट्टान झै उभिँदै आएका न्यौपाने उमेरले बुढ्यौली भएकाले पछिल्लो समय बिरामी समेत परेका छन् । त्यसैले उनको सक्रियतामाथि शंका सृजना भएको छ । यादवको टिम खाँणकोभन्दा फरक लबीमा रहेको हुँदा उनले टिकट पाउने सम्भावना पनि कम छ ।
उता एमालेभित्र पनि मेयरका आकांक्षी धेरै देखिएका छन् । वर्तमान मेयर हरिप्रसाद अधिकारी एमालेको तर्फबाट पुनः मेयरको उम्मेदवार बन्ने योजनामा छन् । व्यवहारमा प्रष्ट भए पनि अधिकारीले पाँच वर्षको कार्यकालमा पार्टी कार्यकता रिझाउन सकेननन् । तर नगरको विकास भने उल्लेख्य गरेका छन् । उनको कार्यकालमा भैरहवाको सडकको विस्तार र हरियाली महत्वपूर्ण उपलब्धी हुन् । यसकारण पनि उनले एक पटक मेयरमा पुनः उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन् । मेयर अधिकारीको सबैभन्दा ठूलो कमजोरी रुखो वचन, ठाडो स्वभाव र प्रचार प्रसारप्रति अरुची भएको स्थानीयको आरोप छ ।
एमालेबाटै मेयरका अर्का उम्मेदवार हुन् हितराज पन्थी । वैचारिक र राजनैतिक हिसाबले अत्यन्तै उच्च ज्ञान भएका पन्थी पार्टीभित्र र बाहिर लोकप्रिय मानिन्छन् । पार्टीको जिल्ला कमिटी उपसचिव समेत रहेका उनी एमालेबाट मेयरको टिकट पाउने बढी सम्भावना भएका उम्मेदवार समेत हुन् ।
यसैगरी अर्का आकांक्षी राजेन्द्र प्रसाद पन्थी पनि छन् । उनी पार्टीका हरेक तहलाई सन्तुलनमा राखेर हिँड्न सक्ने क्षमता राख्छन् । यसैगरी अर्का आकांक्षी भरतकुमार पोखरेल हुन् । पोखरेल संविधानसभा सदस्य पदका उम्मेदवार समेत थिए । पार्टीको निर्वाचन आयोग सदस्य समेत रहेका पोखरेल मेयरको टिकट पाउनेमा ढुक्क देखिन्छन् । कम्युनिष्ट पार्टीको भूमिगत जीवनमा महत्वपूर्ण योगदान गरेका पोखरेल एमालेभित्र वैचारिक क्षमता भएका नेताका रुपमा उक्त भेगमा परिचित छन् ।
यसैगरी एमालेबाट मेयरका आकांक्षी रहेकामध्ये डा. रामप्रसाद बस्याल पुराना नेता हुन् । कम्युनिष्ट भन्न डराउने पञ्चायातकालमा पनि डा. बस्यालहरु जनपक्षीय उम्मेदवार भएर पार्टी काममा खटिएका थिए । मेयरका अर्का आकांक्षी जीवलाल अर्याल युवा नेता हुन् । युवा संघ नेपालको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका अर्याल पार्टीका सबैभन्दा इमान्दार र सोझो तथा सरल नेताका रुपमा परिचित छन् । अर्का आकांक्षी नारायण भण्डारी व्यवसायिक पृष्ठभूमिका हुन् । उनले माओवादी परित्याग गरी एमाले प्रवेश गर्दा १२ सयभन्दा बढी सदस्य एमाले भित्राएकाले मेयरको टिकट पाएमा निर्वाचन जित्ने तर्क गर्दै आएका छन् ।
यसैगरी माओवादी केन्द्रबाट फैज अहमद खान, कमला थापा, डार्विन रोका मगरले मेयरमा आकांक्षा राखेका छन् । खान विगतमा पनि मेयरको उम्मेदवार रहँदा राम्रो मत प्राप्त गरेका थिए । उनी व्यवसायिक पृष्ठभूमिका हुन् । सिद्धार्थनगरमा मुस्लिम समुदायको मत निर्णायक मान्ने गरिन्छ । विगतमा मुस्लिम समुदायको उम्मेदवार उठ्दा समुदायगत मत खस्ने आकलन गर्ने गरिन्थ्यो । तर समय फेरिएसँगै मानिसमा जातिगत र समुदायगत मत दिने सोचमा परिवर्तन आएको छ ।
थापा सशक्त महिला राजनैतिक नेतृ हुन् । राजनीतिमा उनको क्रियाशीलता र मेहनत तथा भैरहवा क्षेत्रको व्यक्तिगत सम्बन्धको कारणले उनी मेयरको टिकट पार्टीले दिएमा निर्वाचनमा शसक्त प्रतिस्पर्धीकोे रुपमा उत्रिन सक्ने देखिन्छ । विगतमा उपमेयरको उम्मेदवार बन्दा पनि उनको पक्षमा राम्रो मत आएको थियो ।
मेयरका अर्का आकांक्षी मगर माओवादी जनयुद्धका सैन्य कमान्डर हुन् । राजनैतिक इमान्दारिता भएका, पुख्र्यौली थलो रोल्पा भए पनि भूमिगतकालदेखि नै भैरहवा क्षेत्रमा काम गर्दै आएका उनी राजनैतिक, वैचारिक र सैद्धान्तिक दृष्टिले उच्चकोटीका उम्मेदवार मान्निछन् । यी तीन जनामध्ये कुनै एकले माओवादी केन्द्रको तर्फबाट मेयरको टिकट पाउने प्रवल सम्भावना छ । पछिल्लो समय पार्टीले एक जिल्लामा, एक महिला मेयर नीति लिएको हुँदा थापाको सम्भावना बढेर गएको छ ।
सिद्धार्थनगरकी वर्तमान उपमेयर तथा एकीकृत समाजवादी नेतृ उमा काफ्ले उक्त पार्टीबाट मेयरको एकल आकांक्षी हुन् । वैचारिक क्षमता र सरल स्वभावकी उनी पार्टीको केन्द्रिय कमिटी सदस्य पनि हुन् । काफ्ले एमाले परित्याग गरी समाजवादीमा क्रियाशील भएसँगै आफ्नो पार्टीबाट मेयरको एक्लो उम्मेदवारको रुपमा देखिएकी छन् ।
राप्रपाले पूर्वमेयर सागरप्रताप राणालाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । राणाको विगतमा सिद्धार्थनगरमा राम्रो पकड थियो । तर अहिले बसाईसराईको संख्या अधिक भएको र नयाँ पुस्ता मतादाता धेरै भएकाले उनको पकड खासै नदेखिएको हो । अन्य समयमा सामाजिक क्रियाकलाप र सार्वजनिक कार्यक्रममा कमै देखिने पञ्चायतका खेलाडीसमेत रहेका राणा दीपक बोहोरा, निरन्जन थापाहरुको जोडबलमा निर्वाचन जित्ने गरेका थिए । तर पछिल्लो पटक समय बदलिएसँगै सिद्धार्थनगरमा जनतामा आएको चेतनाको स्तरोन्नती र विभिन्न राजनैतिक दलको प्रशिक्षण एवम् परिचालनले उनलाई निर्वाचन जित्न सहज देखिँदैन ।
यसैगरी जसपाबाट व्यवसायिक पृष्ठभूमिका अर्जुन जैसवाल, अटेरी समूहबाट ईशा खड्काहरु पनि मेयरको उम्मेदवारी दिने भन्दै प्रचारमा जुटेका छन् ।
टिप्पणीहरू