‘माओवादीले भाँचेको यहि हातले कसरी हँसिया हथौडामा भोट हाल्नु ?’

‘माओवादीले भाँचेको यहि हातले कसरी हँसिया हथौडामा भोट हाल्नु ?’

सत्ता गठबन्धन संयन्त्रले आउँदो स्थानीय तहको निर्वाचनमा सत्ता घटकलाई एक ठाउँमा उभिन निर्देशन दिइसकेको छ । तर जिल्लामा चुनावी गठबन्धनको गाँठो भने अझै फुक्न सकेको छैन । त्यसको कारण– नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तल्लो कमिटीका नेता–कार्यकर्ताहरूको मन अझै एक नहुनु हो ।

जिल्ला तहका नेता–कार्यकर्ताहरूले निर्वाचनको आन्तरिक लेखाजोखा गरिरहेका छन् । उता नेकपा (एमाले) भित्र धमाधम उम्मेदवार टुंगो लगाउने काम भइरहेको छ । हुन त टिकट नपाएपछि पार्टी छाड्ने र असन्तुष्ट नेता–कार्यकताहरूको संख्या उत्तिकै छ । तर सत्ता गठबन्धनभित्र भने जताततै मनमुटाव मात्रै देखिन्छ ।

काँग्रेसले प्रायः जिल्लामा गठनबन्धन गर्न चाहेको छैन । कतिपय जिल्लामा गठबन्धन दलका सदस्यमाथि सम्मानजनक व्यवहार नगरेको माओवादी नेताहरू नै बताउँछन् । बराबर भागबण्डा खोज्दा साझा उम्मेदवार बनाउन सक्ने स्थितिमा देखिँदैनन् । उनीहरू एकआपसमा प्रतिस्पर्धा गर्न पनि तयार छैनन् । केन्द्रले लादेको निर्देशनमा उनीहरु चुपचाप देखिन्छन् ।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले गठबन्धनको झमेला झेलिरहेका छन् । स्थानीय नेता–कार्यकर्ताहरू नै गठबन्धन गर्ने सन्दर्भमा एकमत छैनन् । उनीहरू एक अर्काप्रति नरम पनि देखिँदैनन् । आजसम्म पनि एउटाले अर्कालाई पाएसम्म आलोचना गरिरहेकै छन् ।

चुनावी गठबन्धन भए पनि आफ्ना कार्यकर्ताले माओवादीलाई मतदान गर्ने कुरामा केन्द्रीय नेताहरू नै शंका गर्छन् । ‘माओवादी कार्यकर्ताहरू इमान्दार छन् । उनीहरूले गठबन्धन हुँदा रूखमा भोट हाल्छन् । तर काँग्रेसका २५ प्रतिशत कार्यकर्ताले हँसिया–हथौडामा भोट हाल्दैनन्,’ काँग्रेस केन्द्रीय समितिका ती नेताले भने, ‘किनकि युद्धताका तीनै माओवादीबाट कैयौं कुटिएका छन् । कैयौं मारिएका छन् । ती व्यक्ति वा परिवारका सदस्यले कसरी माओवादीलाई भोट हाल्छन् ?’

संघीय सरकारमा पार्टी–पार्टीबीच गठबन्धन भए पनि स्थानीयस्तरमा चुनावी गठबन्धन गर्नै नहुने नेपाली काँग्रेस गण्डकीका एक पदाधिकारीले बताए । ‘माओवादीसँग चुनावी तालमेल आवश्यक नै छैन । यो काँग्रेस कार्यकर्ताको भावनामा चोट लाग्ने कुरा हो । गठबन्धनबारे देउवा–पौडेल नै जानून्, तर भोट कहाँ हाल्ने काँग्रेसीहरूलाई राम्रोसित जानकारी छ,’ उनले भने ।

युद्धकालमा माओवादीबाट कुटिएका, पिटिएका कार्यकर्ताहरूले केन्द्रीय नेताहरूको स्वार्थमा हँसिया–हथौडामा मतदान नगर्ने काँग्रेसकै एक जना प्रदेश सभापति दाबी गर्छन् । ‘देशलाई द्वन्द्वमा धकेलेर १० वर्षसम्म मुलुकमा अराजकता निम्त्याएको काँग्रेस कार्यकर्ताहरूले बिर्सिएका छैनन् । त्यो बेला मुङ्ग्रोले हानेर भाँचेको काँग्रेसी हातले कसरी हसिया हथौडामा हात हाल्ने ? ,’ उनले विगतको तीतो पोख्दै भने ।

टिप्पणीहरू