बिप्लवका कमाण्डरहरु अकस्मात किन खुमल्टार ?
नेकपा विप्लव समूहका विदेश मामिला प्रमुख धर्मेन्द्र बास्तोला “कन्चन” र नेता हेमन्तप्रकाश वली “सुदर्शन” नयाँ वर्ष २०७९ को पहिलो दिन बिहान एकाएक खुमलटारमा देखिनुभयो । उहाँहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ वर्षको शुभकामना दिन र केही बातचित गर्न वर्षको पहिलो दिन खुमलटारमा पुगेको स्रोतको दाबी छ ।
तर उहाँहरुले पार्टीका नेताहरुसँगको कुराकानीमा जीर्ण स्वास्थ्य अवस्थामा पुग्नुभएकी प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई भेट्न गएको जवाफ दिने गरेको पाइएको छ । यसबीचमा उहाँहरुले विप्लव र प्रकाण्डलेझैँ समानान्तर रुपमा भेटघाट गर्नुभएकाले पनि अनेक आशंका गरिएको छ ।
‘भन्नलाई सीता दाहाललाई भेट्न गएको भनिए पनि चुनावमा भाग लिने सवालमा विमती राख्ने नेताहरुले खुमलटार गएर प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ,’ विप्लव निकट एक जना नेताले बताए । उहाँहरुले बिरामी हेरेको फोटो सार्वजनिक भएको छैन । तर प्रचण्डसँग वार्ता गरेको फोटो मात्रै बाहिर ल्याइएको छ । अर्कोतर्फ बिरामीले घरकै मान्छेलाई चिन्न छाड्नुभएकाले बाहिरकाले भेट्न जानुको कुनै अर्थ नभएको उनको तर्क छ ।
यसअघि कपिलवस्तुमा भएको पार्टी बैठकमा बस्तोला र वलीले निर्वाचनमा सहभागी हुने नेतृत्वको प्रस्तावमा कडा असहमति राखेको बुझिएको छ । उनै नेताका अनुसार उहाँहरुले बैठकमा फरक धारणा राखेपनि त्यो लिखित धारणा भने होइन ।
पार्टीमा उहाँहरुको दर्जा तेस्रो र चौथो हो । कञ्चन अर्थात बास्तोला तेस्रो र सुदर्शन अर्थात् वली चौथो पोजिसनमा हुनुहुन्छ । औपचारिक पोजिसन नतोकेपनि दोस्रोमा प्रकाण्डलाई लिने गरिएको छ ।
अब पार्टीमा नबस्ने करिब करिब तयारीस्वरुप बास्तोला र वली खुमलटार पुग्नुभएको विप्लव र प्रकाण्ड निकटस्थहरुको बुझाइ छ । बाहिर चुनावमा भाग लिने सम्बन्धमा जति हल्ला भए पनि विप्लवको पार्टीभित्र त्यसबारे कुनै कुरा नभएको दाबी गरिएको छ ।
उहाँहरु ढिलोचाँडो माओवादी केन्द्रमा जाने तयारी हो भन्दै स्रोत भन्छ,‘पहिले एउटा समूह बनाउने तयारी गरिरहेको बुझिएको छ । उहाँहरुले किरण अर्थात मोहन वैद्यसँग पनि कुरा गर्नुभएको छ । राजु कार्कीसँग पनि कुरो भएको छ ।’
कार्की पहिले विप्लव समूहको जिल्ला सेक्रेटरी हुन् । उनी लमजुंगका भए पनि काठमाडौंमा हुर्केका थिए । पहिले गणेश साहको पार्टी छाडेर कार्की विप्लवतिर गएका हुन् । सरकारले विप्लव पार्टीमाथि प्रतिबन्ध लगापछि उनले अर्कै पार्टी बनाएका हुन् ।
कार्कीको पार्टीलाई सुन तस्करीमा परेका रसुवाका एक जना तामाङले आर्थिक जिम्मेवारी दिएको बताइन्छ । कार्कीसँग पूर्व सैनिक र प्रहरी बढी रहेको विप्लव निकट नेताहरुले स्वीकारेका छन् । ‘थर र जिल्लाको नाताले पनि उनलाई सुरक्षा निकायका धेरैजसो भूतपूर्वले साथ दिएका हुन्,’ कार्कीभन्दा फरक धारका नेताहरु बताउँछन् ।
राजुले आफूले छाडेर सुदर्शनलाई पार्टी प्रमुख बनाउने तयारी गरेको भन्नेहरु पनि छन् । उनलाई अलि माथिल्लो तहका नेता चाहिएकाले पनि त्यसो गर्न अघि सरेका हुन् । भ्रष्टाचारका ठूलो विषय सार्वजनिक र पुष्टि हुँदै गएकाले कतिपय नेता विप्लवको पार्टीमा बस्न नसक्ने अवस्था बन्दै गएको एकथरिको बुझाइ छ ।
यता गुणराज लोहनीले पनि सामाजिक सञ्जालमा मनपरी लेख्न थालेका छन् । उनै नेता भन्छन्, ‘उनको पनि भण्डाफोर भएकाले आत्तिएका हुन् । चितवनको केसमा उनीमाथि छानबिन हुने तयारी छ ।’
टिप्पणीहरू